कोरोना भाइरस परिवारमा कोभिड– १९ सबैभन्दा कान्छो र अरू प्रजातिको तुलनामा कमजोर देखिन्छ। आगामी दिनमा यो भाइरसबारेमा थप जानकारी आउँदै गर्दा आजको मितिसम्मको तथ्यांकलाई आधार मान्ने हो भने विगतमा देखिएको विशेष गरेर कोरोनाका अरू प्रजाति जस्तै मर्स तथा सार्स कोरोना भाइरसभन्दा यसको मृत्युदर धेरै कम देखिन्छ। यद्यपि यसको प्रसारण गति तीव्र र संख्याको हिसाबमा धेरै हुन सक्छ।
हाल यसको मृत्युदर तीनदेखि चार प्रतिशतको हाराहारीमा देखिएको छ भने मर्स झन्डै ३० र सार्स १० प्रतिशतको हाराहारीमा छ। झन्डै ८० प्रतिशतजतिमा कोभिड– १९ को संक्रमण सामान्य हुने र ती व्यक्ति स्वास्थ्य केन्द्रसम्म नआउँदा तिनीहरूको गणना मृत्युदरको प्रतिशतमा जोडिएको छैन। तर यदि ती व्यक्ति पनि तथ्यांकमा समावेश गरिएर हेर्ने हो भने कोभिड– १९ को मृत्युदर अति न्यून हुने निश्चित छ। यसमा धेरै वैज्ञानिक पनि सहमत भएको देखिन्छ। यस मानेमा यो कोभिड– १९ प्रजाति विशेष गरेर अरू महामारीका रूपमा फैलिएको कोरोना परिवारका अरू प्रजातिभन्दा धेरै कम घातक भनिएको मान्न सकिन्छ।
चीनको वुहान सहरबाट फैलिएको अनुमान गरिएको यो भाइरस चीनबाहिर विश्वका झन्डै एक सय ८० देशमा फैलिइसकेको छ। कोभिड– १९ विभिन्न कारण ती देशमा पुगेको भए पनि ती सबै देशमा सो भाइरसले समुदायमा व्यापकता पाएको भने होइन। विश्वका हरेक देशका मानिस भने आफ्नो देशमा यसले भयावह स्थिति ल्याउँछ कि भनेर त्रासमा बाँचेको भने देखिन्छ, जुन नेपालमा पनि छ। यसो भन्दै गर्दा हामीले गएको तीन महिनामा यसले कति देशमा भयावह स्थिति ल्यायो भनेर संख्यामा हेर्ने गरेको देखिँदैन।
सञ्चारमाध्यमबाट आउने समाचारमा पनि संक्रमण फैलिएको देशको संख्या हेर्ने र महामारी फैलिएको देशका बारेमा बढी चासो दिनेर लिने गरेको पाहिन्छ तर यस्तो भयावह स्थिति कति देशमा थियो वा छ भनेर कसैले पनि सोचेको भने पाइँदैन। अहिलेसम्म चीन, कोरिया, इरान र इटालीमा यो भाइरसको अति प्रभाव परेको देखिन्छ। अर्को शब्दमा भन्नुपर्दा विश्वमा कोभिड– १९ देखिएको लगभग दुई प्रतिशत देशमा मात्र यसले भयावह महामारीको रूप लिएको देखिन्छ। अरू केही देशमा कोभिड– १९ सुस्तगतिमा रहेको वा नियन्त्रणमा राखेको देखिन्छ। यसको मतलब कोभिड– १९ पुगेको विश्वका हरेक देशमा यसले उत्तिकै प्रभाव वा मानवीय क्षति पार्न सक्ने क्षमता नराख्ने प्रस्टै देखिन्छ। डा. शेरबहादुर पुनकाे विचार अन्नपूर्ण पाेस्ट दैनिकले छापेकाे छ ।















प्रतिक्रिया