२ कार्तिक २०८३, सोमबार

लुकाइएका ग्यास सिलिण्डर जफत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, ७ चैत । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री सुरक्षाबलसहित आकस्मिक रुपमा नारायण नगरपालिका कार्यालयसँगै दैलो जोडिएको ग्याँस बिक्रेता श्रेष्ठ भाँडा पसलमा पुगेर पसलवालालाई सोधे ‘तपाईको पसलमा ग्याँस कति स्टक छ ?’

व्यापारीले उत्तर फर्काए ‘एउटा पनि छैन’ त्यसअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको टोलीका सदस्यले व्यापारीले भने अनुसारको एउटै पनि स्टक छैन भनी लेखिएकोमा दस्तखत गराए । स्टोर कहाँ छ भनी सोध्दा कारागार नजिकको स्टोरमा देखाए, भरेको ग्याँस सिलिण्डर भेटिएन ।

त्यसैगरी दैलेखमा धेरै ग्याँस बेच्ने एलिजा स्टोरमा मिलनचौक पुगेर पनि मालिक यज्ञ न्यौपानेलाई सोधनी भयो अनि त्यहाँ उनले ‘एउटा मात्र छ’ भनेर खाली सिडिण्डरको चाङ्ग नजिकै देखाए । उनको स्टोर हेर्न सहायक प्रमुख जिल्ला अधिकारी आफ्नो टोली सहित टेलिकम नजिक पुगे ।

त्यहाँ खाली सिलिण्डरसँग मिसाएर राखिएका ३ वटा भरेका ग्याँस सिलिण्डर भेटिए । सुरक्षाकर्मीले भरेको भेटिएका तीन वटै सिलिण्डर गाडीमा हालेर टोली फर्कियो ।

सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीको नेतृत्वमा प्रहरी निरीक्षक नैनबहादुर साउद र पत्रकार सहितको टोलीले ती दुई पसलबाट ल्याई फुटकरमा ग्याँस बेच्ने बिक्रेताहरुको पसल पनि जाँच्दै फर्किएको थियो ।

जब टोली जिल्ला प्रहरी कार्यालयमा पुगेर चिया खाँदै थियो त्यसबेला सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीको मोवाइलमा घण्टी बज्यो अनि उनले कल रिसिभ गरेपछि उताबाट प्रतिक्रिया आयो ‘जहाँ ग्याँस लुकाइएको छ त्यहाँ तपाईंहरु जानुभएन नि ।’

त्यसपछि अनुगमन टोलीले श्रेष्ठ भाँडा पसल नजिकको स्टोरमा तलासी गर्दा ११ वटा भरेका सिलिण्डर फेला परे, पहिले छैन भनेर ढाँटेको तर दोहोर्याएर खोज्दा भेटिएको कारण भरेको भेटिएका ती सिलिण्डर पनि अनुगमन टोलीले जफत गरेको छ ।

अनुगमन गर्दा १४ वटा ग्याँस फेला पर्नुलाई प्रशासनले कृतिम अभाव हुन नदिन आफू चनाखो रहेको देखाएको छ । उपभोक्ताहरु भने मनकामना ग्याँस बेच्ने श्रेष्ठ भाँडा पसल र भेरी ग्याँस बेच्ने दैलेखका दुई डिलरहरुबाट फुटकर बेच्न लिन अरु व्यापारीले पनि लुकाएका गुनासो गरेका छन् ।

व्यापारीहरुले ‘हामीसँग स्टक छैन’ भनिसकेपछि पनि फेला परेका ती ग्याँस जफत गरिएको र सो विषयमा कानूनी कारवाही अगाडि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।

व्यापारीहरुले खाना पकाउने ग्याँसको अभाव सिर्जना गराएको भन्ने उपभोक्ताहरुको सिकायत आएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले बिक्रेताहरुको पसल अनुगमन गरेको हो ।

कोरोना भाइरसको प्रभावले आयात कमी भएको बाहना बनाउदै व्यापारीहरुले ग्याँस लुकाएर अभाव सिर्जना गर्ने, बढी मूल्यमा बिक्री गर्ने गरेको सिकायतका आधारमा प्रशासनले अनुगमन गरेको हो ।

दैलेखका विपदको समयमा अभाव सिर्जना गरेको विषयमा उभोक्ताको गुनासो आउनासाथ तत्काल अनुसन्धान गरी दोषी भेटिएमा कालाबजारी वा त्यो भन्दा कडा अर्को कुनै कानूनी व्यवस्था भए कारवाही गरिने प्रमुख जिल्ला अधिकारी कटेलले बताए ।

भेरी ग्यास उद्योग नेपालगञ्जबाट ल्याई दैलेखमा बेच्ने थोक बिक्रेता एलिजा स्टोरले मासिक १६ सय सिलिण्डर बेच्ने गरेको बताइएको छ ।

मनकामना ग्याँसको डिलर श्रेष्ठ भाँडा पसलका प्रोप्राइटर कृष्णप्रसाद श्रेष्ठले बजारमा आवश्यक पर्ने जति ग्याँस उद्योगले नदिएकोले प्रशासनले त्यहाँ भन्दिन आग्रह गरेका थिए ।