काठमाडौं, ७ चैत । कोरोना भाइरस (कोभिड–१९) को त्रास बढिरहेका बेला ग्यास, मास्कलगायत दैनिक अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेहरू धेरै भेटिएका छन् ।
सरकारी निकायले कालोबजारी गर्नेलाई दैनिकजसो पक्राउ गर्न सफल भएको छ। समस्याबीचमा केही व्यक्ति भने पीडितलाई सहयोग गर्न स्वतःस्र्फूत रूपमा अघि सरेका छन् ।
त्यस्तै व्यक्तिमध्येमा पर्छन्, कुलेश्वरका लालचन्द्र गौतम र उनकी पत्नी वन्दना। विश्वव्यापी रूपमा महामारी बनेर फैलिरहेको कोरोनाबाट नेपाली पनि संक्रमित हुने खतरा देखिएपछि गौतम दम्पतीले कुलेश्वरको लिकरोडस्थित आफ्नो घरलाई ‘क्वारेन्टाइन’का रूपमा तयार पारेको छ ।
‘कोरोना संक्रमणको आशंका गरिएका नौजनासम्म बस्न मिल्नेगरी घर तयार पारेको छु,’ लालचन्द्रले बिहीबार नागरिकसँग भने, ‘सम्भवतः शुक्रबारदेखि कोरोना संक्रमित भएको आशंका गरिएका व्यक्ति क्वारेन्टाइनमा बस्न आउँदै हुनुहुन्छ।’ कोरोना संक्रमितका लागि क्वाइरेन्टाइन तयार हुँदै गर्दा थुप्रैले चासोसमेत राख्ने गरेको उनले बताए ।
विदेशबाट आएका, काठमाडौंमा घर नभएका तथा परिवारसहित एउटै कोठामा बस्दै आएका व्यक्तिलाई लक्षित गरी उनले निजी घरलाई क्वारेन्टाइन बनाएका हुन्। ‘कोरोना संक्रमित जहाँ पायो त्यही बस्न नमिल्ने भएकाले केही सहयोग होला भनेर आफ्ना दुईमध्ये एउटा घरलाई क्वारेन्टाइन बनाउने निर्णय गरेका हौं,’ उनले भने ।
उक्त घरमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिले १४ दिनसम्म निःशुल्क रूपमा बस्न पाउनेछन्। क्वारेन्टाइनमा बस्न आउनेका लागि गौतम दम्पतीबाटै पानी र ग्यासको समेत व्यवस्था हुने जनाइएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया