वीरेन्द्रनगर, ६ चैत । गुर्भाकोट नगरपालिका–१ मालारानीका जितबहादुर सार्की फागुन तेस्रो साता भारतको अहमदावादबाट घर आए । सञ्चार माध्यमले कोरोना भाइरसका विषयमा गाउँलेलाई जानकार बनाइसकेका थिए ।
त्रास फैलिरहेका बेला भारतबाट घर आउँदा उनीमाथि आफन्तले कोरोना भाइरस बोकेर ल्याएको शंका गरे । ‘फर्किंदा बाटामा चेकजाँच गर्दा त नराम्रो महसुस भएन,’ उनले भने, ‘तर घर आइसकेपछि मेरो सुटकेस समात्न आफ्नै सालाले अप्ठ्यारो मान्यो ।’
लामो सफरबाट फर्किंदा सार्कीलाई हलुका रुघाखोकी पनि लागेको थियो ।
कोरोनाको त्रासले गर्दा भारतबाट फर्किएका उनलाई आफन्तले छुन पनि डराए । ‘धेरैले त मजाकमै पनि कोरोना लिएर आ’को छ कि भने,’ उनले भने, ‘केही छिमेकीले रिसाएरै आफ्नो नजिक पर्न दिएनन्, अरूको त कुरै नगरौं, आमाले पनि माइला अलि पर बस् है भन्नुभयो ।’ परदेशमा भन्दा गाउँघर बढी आतंकित रहेको अनुभव भएको उनले बताए ।
बराहताल गाउँपालिका–६ का सुमन पुन भारतबाट फर्किएदेखि गाउँघरमा साथीहरू पनि नजिक पर्न छाडेको भन्दै खिन्न छन् । ‘बाटामा हिँड्दा, सामान्य खोक्दा पनि साथीहरू तर्किन्छन्,’ उनले भने, ‘खोकी त जतिबेला पनि लागिरहन्छ तर खोक्दैमा कोरोना हो भन्ने त्रास गाउँका मान्छेलाई परेको छ ।’ कोरोनाका विषयमा फैलिएका अनावश्यक हल्लाले टाढाबाट घर फर्किएका आफन्तमाथि संक्रमित हुन सक्ने आशंका हुनु सकसपूर्ण रहेको उनले बताए ।
सामान्य रुघाखोकी, ज्वरो आए पनि आफन्तले शंका गरेपछि कालापहाडबाट फर्किएका केहीले आफू तिरस्कृत भएको महसुस गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१६ का चेतबहादुर रानाले संक्रमणको त्रासका कारण घर फर्किएका आफूजस्ता धेरै जना शंकाको घेरामा परेको बताए । ‘इन्डियाबाट फर्किएको महिनादिन हुन लाग्यो । मलाई सामान्य रुघाखोकी त छ, अरू समस्या केही छैन,’ उनले भने । घरमा पनि ‘अहिल्यै किन फर्किएको ?’ भनेर आफन्तले सोध्दानरमाइलो लाग्ने उनको गुनासो छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया