४ कार्तिक २०८३, बुधबार

रोकिएन चितुवा आतंक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ६ चैत । घरमा आमासँगै रहेकी शुक्लागण्डकी–३ बन्केवाकी २१ महिने संस्कृति न्यौपानेलाई सोमबार साँझ चितुवाले झम्टियो।

चितुवाको पन्जामा परेकी संस्कृतिलाई आमा इन्दिराले ज्यानकै बाजी राखेर खोसिन्। घाइते संस्कृतिको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि फागुन २८ मा पनि आमासँगै छिमेकीको विवाहमा जाँदै गर्दा बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट कुमालटारीका ७ वर्षीय अनुप नेपालीलाई चितुवाले आक्रमण गर्‍यो। आमा मीराको पछिपछि रहेका अनुपलाई चितुवाले बीचबाटै खोस्ने प्रयास गरेको थियो। अनुपसँगै अरु दुई बालबालिका पनि थिए।

तर दुई बालबालिकाको माझमा रहेका अनुपलाई चितुवाले आक्रमण गरी लडायो। तत्काल आमा मीराले देखेर ढुंगामुढा गर्दा चितुवा अनुपलाई छाडेर भाग्यो। चितुवासँग लडेर मीराले छोराको ज्यान बचाइन्। चितुवाले घाँटीमा चिथोरेर घाइते भएका उनलाई गण्डकी अस्पतालमा एक साता उपचारपछि घर ल्याइएको छ।

त्यस्तै तनहुँकै बन्दीपुर–४ लोहीपाखामा माघ १३ गते गाउँमा भोज खाएर आमासँगै घर फर्कंदा १० वर्षीय इसक सुनारलाई पनि चितुवाले आक्रमण ग-यो। आक्रमणबाट इसकको घटनास्थलमै ज्यान गयो। आमा पवित्राको अघिअघि हिँडिरहेका इसकलाई आक्रमण गरी चितुवाले खोल्सामा फ्याँकेको थियो।

तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिका चितुवाको सिकार भएका छन्। चितुवा आक्रमणबाट पाँच बालबालिका घाइते भएका छन्। जिल्लाका विभिन्न स्थानमा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेको पनि दुई वर्ष पुुगेको छ।

शृंखलाबद्ध चितुवा आक्रमण रोकिएको छैन। सबैभन्दा धेरै भानु नगरपालिकाका ६ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन्। घाइते हुने पाँचमध्ये तीनजना पनि त्यहींका छन्।

भानु–१, ३ र ४ मा चितुवा आतंक बढी छ। दुई वर्षको अवधिमा शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा एक–एकजना बालबालिकाले चितुवा आक्रमणबाट ज्यान गुमाएका छन्। शुक्लागण्डकी र बन्दीपुरका एक–एकजना घाइते भएका छन्।

२०७४ फागुन १ गते पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले सिकार बनाएको थियो। त्यसपछि चितुवाले बालबालिकामाथि शृखंलाबद्ध आक्रमण गर्दै आएको छ। चितुवा आक्रमणबाट ज्यान गुमाएका सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन्। नागरिक दैनिकले खबर छापेकाे छ ।