४ कार्तिक २०८३, बुधबार

नाकामा बेरोकतोक आउजाउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । सरकारले भारतसँगका महत्त्वपूर्ण चार नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा र गड्डाचौकीबाहेक अन्यलाई बन्द गरेको घोषणा गरे पनि ती नाकामा बेरोकतोक आवतजावत जारी रहँदा कोरोना संक्रमण फैलिने उच्च जोखिम छ । बन्द गर्ने भनिएका केही नाकामा स्थानीय तहले हेल्थ डेस्क राखे पनि मास्कसमेत यथेष्ट नहुँदा त्यहाँ खटिएका स्वास्थ्यकर्मी नै असुरक्षित छन् ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट ओहोरदोहोर गर्नेको जाँच गर्न खटिएका विद्यानगर स्वास्थ्यचौकीका अहेब अनवर अहमद खाँ र भगवानपुर स्वास्थ्यचौकीका अहेब नवीनप्रसाद डाँगीलाई सरकारले कुनै सुरक्षा उपकरण नदिएपछि आफैंले सामान्य मास्क किनेर लगाएका छन् । नाकामा कृष्णनगर नगरपालिकाले एउटा टेन्ट टाँगेको छ, जसको मुनि बसेर उनीहरू डिजिटल थर्मोमिटरले ज्वरो नाप्छन्, यात्रुको नाम लेखेर पठाउँछन् । केही गडबडी देखिए दिन सामान्य औषधि पनि उनीहरूसँग छैन ।

मंगलबार मध्याह्नसम्म उनीहरू काखीमा थर्मोमिटर च्याप्न लगाएर ज्वरो नाप्थे । पन्जाबबाट आएका ६ नेपाली विद्यार्थीले उक्त थर्मोमिटरले ज्वरो नाप्दा संक्रमण सर्ने भन्दै नाप्न नमानेर नाराबाजी नै गरेपछि नगरपालिकाले एक चिकित्सकसित मागेर इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएको छ ।

‘भगवान् भरोसा काम गरिरहेका छौं,’ अहेब डाँगीले भने, ‘भाग्यले अहिलेसम्म केही भएको छैन ।’ उनीहरू जस्तै अर्को नाका सुठौलीमा दुई महिला स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरू पनि १० देखि ४ बजेसम्म ज्वरो नाप्दै बस्छन् । नजिक आउनेलाई नाप्छन् । नभए छाड्छन् । अघिपछि सीमा खुला हुन्छ । जो आए/गए पनि मतलब हुँदैन ।

संक्रमणबाबट बच्न व्यक्तिगत सुरक्षा सामग्री चाहिन्छ, जसभित्र गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा र बुटलगायत सामान पर्छन् । एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने यी सामग्री नाकामा कुनै पनि हेल्थ डेस्कमा छैनन् । ‘प्रदेश सरकारको आपूर्ति महाशाखासँग सुरक्षाका सामग्री माग गर्दा थाकिसक्यौं,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘एक महिना हुन लाग्दा पनि आएको छैन ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।