काठमाडौं, ५ चैत । विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ। तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन। हाल १५ सय मात्र पिसिआर रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। सरकारले २ हजारजति पिसिआर ल्याएमध्ये करिब ५ सय प्रयोग भइसकेका छन्।
पिसिआर कम भएका कारण शंका लागेजति सबै र निजी क्लिनिकका चिकित्सकको सिफारिसका बिरामीको नमुना परीक्षण नगरिएको एक निजी क्लिनिकका चिकित्सकले सुनाए। ‘लामो समय सेवा दिएका चिकित्सकको सिफारिसका आधारमा जाँच हुनुपथ्र्यो’, उनले भने।
उनले आफूकहाँ आएका शंकास्पद दुई बिरामीले कोरोना परीक्षण गर्न नपाएको गुनासोसमेत सुनाए। यस विषयमा बुझ्न खोज्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोेकेको दायराभित्र परेका व्यक्तिको मात्र जाँच गर्न मिल्ने व्यवस्था गरिएको बताए।
दायराभित्र नपरेकाको कोरोना जाँच हुन नसकेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पनि पुष्टि गरे। उनले शंकास्पद सबैको परीक्षण गर्न नपाउँदा बिरामी अन्योलमा परेको स्वीकार गरे। परीक्षणको दायरा फराकिलो बनाउन प्राविधिक समिति र विश्व स्वास्थ्य संगठनसित छलफल अघि बढाइने पाण्डेले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया