काठमाडौं, ५ चैत । कोरोना भइरस (कोभिड–१९) नियन्त्रणका लागि आफ्नो मुलुकमा सफलता हासिल गर्दै आएको छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ । नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो ।
भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो ।
कोरोना भाइरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार चीनले सहयोगका सम्भावित क्षेत्रबारे पनि उल्लेख गरेको छ । ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनबाट आएको छ ।
त्यस्तै भाइरसको संक्रमण घट्नेबित्तिकै नेपालले चाहे चिनियाँ पर्यटकहरूको आगमन पनि अरूभन्दा पहिले खुला गर्न तयार रहेको प्रतिबद्धता आएको छ । त्यस्तै नेपालको पूर्वाधार निर्माणको कामलाई पनि नेपालले चाहेको समयमा गति दिन तयार रहेको सूचना चीनले पठाएको छ ।
‘यस्तो गर्ने हो भने तुरुन्त माग होस्, हामी तत्पर छौं भनेर चिनियाँ पक्षबाट हामीलाई आश्वासन आएको छ,’ उपप्रधानमन्त्री पोखरेलले मंगलबार कान्तिपुरसँग भने, ‘हामी पनि संक्रमण नफैलियोस् भनेर लागेका छौं र आवश्यक पर्ने सबै खालका सहयोग लिन्छौं ।’
केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो । त्यस क्रममा पनि पनि सहयोग गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको थियो । ‘उहाँहरूले सहयोगका लागि तत्परता देखाउनुभएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँहरूको असल अभ्यासबाट कसरी सिक्ने भन्ने नै हो । दोस्रोचाहिँ हामीलाई आवश्यक पर्दा सामग्रीहरूमा सहयोग गर्ने कुराहरू हुन्, त्यसमा कुराकानी भइरहेको छ ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया