४ कार्तिक २०८३, बुधबार

निजी आवास अनुदानमा सरकार झनै लचिलो, अनुदान लिने समयसीमा फेरि थपियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । सरकारले भूकम्पपीडितका लागि दिइने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ ।

भूकम्पपछिको पुनर्निर्माणको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान लिने समयसीमालाई पुनः थप विस्तार गर्दै सहजता प्रदान गरेको हो ।

भूकम्पप्रभावित लाभग्राही तथा जनप्रतिनिधिको अनुरोध र सुझावलाई आधार मानेर प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण अनुदान लिने समयसीमा थप गरेको हो ।

नयाँ समयसीमाअनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५÷०७६ बाट लाभग्राही कायम भएकाहरू, प्राधिकरणबाट २०७६ मंसिरपश्चात् कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले २०७६ चैत्र मसान्तसम्म सम्झौता गरी पहिलो किस्ता लिन पाउने भएका छन् ।

प्राधिकरणका अनुसार अनुदान सम्झौता गर्न बाँकी वा अनुदान सम्झौता गरी पहिलो किस्ता लिन बाँकी लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिसमा पुनर्निर्माण जिल्ला सहजीकरण समितिको निर्णयअनुसार २०७६ चैत मसान्तसम्ममा अनुदान सम्झौता गरी पहिलो किस्ता लिनुपर्नेछ । यसरी लाभग्राही भएका एवं २०७६ माघ मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले आगामी २०७७ असार मसान्तसम्मा दोस्रो किस्ता लिनुपर्ने समयसीमा तोकिएको छ ।

प्राधिकरणले सबै लाभग्राहीले निजी आवास पुनर्निर्माणको तेस्रो एवं अन्तिम किस्ता लिने समयसीमा २०७७ मंसिरमसान्तसम्म पुर्‍याएको छ ।

यसअघि, प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा समावेश भएका भूकम्पपीडितलाई पहिलो किस्ता लिने समयावधि पुस मसान्तसम्म तोकेको थियो ।

प्राधिकरणका अनुसार लाभग्राहीमा कायम भई हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुननिर्माण गर्न इच्छुक लाभग्राहीले आ–आफ्नो स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराई पुस मसान्तभित्र पहिलो किस्ता लिई सक्नुपर्ने समयसीमा निर्धारण गरेको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।