४ कार्तिक २०८३, बुधबार

नखाएको विष लाग्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट तारेख खेपेर गत बुधबार बुद्धनगरस्थित घर फर्किंदा ६४ वर्षीय पूर्णप्रसाद मानन्धर थकित थिए ।

सेवानिवृत्त वरिष्ठ पशु विकास अधिकृत उनलाई यस्तो झन्झटमा फसिएला र अड्डा अदालतको तारिख खेपेर दिन गुजार्नुपर्ला भन्ने लागेकै थिएन ।

गर्दै नगरेको अपराधमा आफूलाई मुछेकामा उनको चित्त त कुडिएको छ नै, निर्दोष मान्छेलाई अड्डा अदालतको चक्करले कुन हदसम्म बेचैन बनाउँदो रहेछ भनेर उनी दिग्दार पनि छन् ।

गत वर्ष फागुन ९ गते मानन्धर बुद्धनगरस्थित घरमै डेरीको काम गर्दै थिए । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट बोलेको भन्दै आफूलाई प्रहरी बताउने एक जनाले उनीसँग गाडी नम्बर सोधे । उनले बताइदिए । त्यसपछि तिनले भने, ‘तपाईंको गाडी मान्छे हानेर भागेछ । तपाईं तुरुन्त गाडी लिएर प्रहरीमा आउनुस् ।’ प्रहरी झुक्कियो होला भन्ठानेर उनले यस कुरालाई सामान्य लिए ।

उनी सरकारी सेवामै रहँदा २०६५ फागुन २५ गते बीपी राजमार्गअन्तर्गतको खनियाखर्कमा दुर्घटनामा पर्दा उनको टाउको र खुट्टामा चोट लागेको थियो । त्यही दुर्घटनाका कारण उनको दाहिने खुट्टा कमजोर बनेको छ । उनी गाडीको ब्रेक बल पुर्‍याएर थिच्न सक्दैनन् । चिकित्सकले उनलाई भनेका छन्, ‘लङ ड्राइभमा जाँदै नजानुस् । खुट्टामा समस्या पर्छ ।’

त्यसैले मानन्धर काठमाडौं बाहिर आफैं गाडी हाँकेर जाने त परको कुरा, सोच्दा पनि सोच्दैनन् । सेवानिवृत्त भएपछि पनि उनी विभिन्न पशु फार्ममा सेवा दिन डुली हिँड्छन् । त्यसैले उनको गाडी हरदम उनीसँगै हुन्छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट केही दिनपछि फेरि फोन आयो । आफूलाई पुलिस बताउनेले फेरि भने, ‘तपाइँविरुद्ध दुर्घटना गराएर भागेको उजुरी छ । तुरुन्त गाडी लिएर नवलपरासी प्रहरीमा आउनुस् ।’

मानन्धरले आफ्नो दिनचर्या र काठमाडौं बाहिर गाडी चलाएर जानै नसक्ने अवस्था सम्झे । उनले आफ्नो डेरी फर्ममा दूध किन्न आउने एक न्यायाधीशलाई समस्या सुनाए । तिनले शंका भए पुलिस आफैं आएर गाडी हेरिहाल्छ नि भने । उनले छिमेकमा बस्ने एक सरकारी वकिललाई पनि सोधे । ती वकिलले पनि उस्तै सल्लाह दिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।