४ कार्तिक २०८३, बुधबार

आइओसी प्रतिनिधिको दादागिरी, घुस नपाएपछि दिनभर इन्धन आपूर्ति ठप्प

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २ चैत । भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अवैध रूपमा मागेको रकम दिन नमान्दा शनिबार दिनभर इन्धन आपूर्ति ठप्प भयोे। रकम नदिएका कारण आइओसीका प्रतिनिधिले जाँचपास रोकिदिएपछि ६९ वटा ट्यांकर दिनभर आइसिपी (इन्टरग्रेटेड चेक पोस्ट) को भारतीय हातामै रोकिए।

यो घटनासँगै इन्धन बोक्ने नेपाली ट्यांकरबाट आइओसीका प्रतिनिधिले बर्सेनि करोडौं रुपैयाँ अवैध रुपमा असुली गर्दै आएको समेत खुलेको छ। २०७५ जेठ १४ मा आइओसीका जेपी सिंहलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेर आइसिपी नाका पठाइएको थियो। सिंहमार्फत नै नेपाली ट्यांकरबाट अवैध असुली हुने गरेको छ।

अवैध असुलीका लागि सिंहले केही स्थानीयलाई परिचालनसमेत गरेको जनाइएको छ। ‘जब आइसिपी राखियो तब बरौनीबाट आउने सबै ट्यांकर सोही ठाउँ भएर आउन थाले। त्यहाँ यस काममा आइओसीका प्रतिनिधि भएर जाँचपासमा सहजीकरण गर्ने भनेर नियुक्त एकजनालाई खटाइएको छ,’ पेट्रोलियम ढुवानी सम्बद्ध एक व्यवसायीले घटनाको पृष्ठभूमि बताउँदै भने, ‘तिनै प्रतिनिधिले अवैध तरिकाले रकम असुल गर्दै आएका छन्। सुरुमा सय/डेढ सय रुपैयाँ ट्यांकर चालकले दिने गरेका थिए। तर आइओसीका प्रतिनिधिले उक्त रकमलाई आफ्नो अधिकार मात्र ठानेनन्, त्यसलाई बढाउँदै पनि लगे। सोही रकम प्रतिट्यांकर ६ देखि सात सय भारतीय रुपैयाँसम्म पुग्यो, जसलाई प्रतिनिधिले आसेपासे खटाएर असुल्छन्।’

नेपाल आयल निगमको वीरगन्जस्थित कार्यालयमा यसबारे छलफल गर्न बसेको सरोकारवालाको बैठकमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीले आफूहरू अवैध रकम दिन तयार नरहेकाले निगमकै तर्फबाट यसमा औपचारिक र स्थायी समाधानका निम्ति पहलको माग गरे। ‘सुरुसुरुमा ट्यांकर चालकले उक्त रकम आफूले पाउने पटके खर्चबाट तिर्दै आएकोमा पछि अलग्गै खर्चको मान्यता दिन र ढुवानी व्यवसायीबाट भुक्तानी हुनुपर्ने दाबी गरे तर हामीले रसिद वा पुर्जी नहुने पैसा नदिने भन्यौं,’ संघका केन्द्रीय सदस्य विनोद मानन्धरले भने, ‘हिजो बरौनीबाट भित्रिएको ६९ वटा ट्यांकरले बिहान भन्सार पास गराउन भारतीय आइसिपीमा जाँदा उक्त रकम दिन तयार नभएपछि आइओसीका प्रतिनिधिले जाँचपास नै गराइदिएनन्।’

बिहान भारततर्फको आइसिपीमा उक्त समस्या भएपछि निगमका वीरगन्ज कार्यालयका प्रबन्धक रामकुमार न्यौपानेसहित नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारी र ट्यांकर चालक संघका प्रतिनिधिको टोली त्यहाँ पुगेर समस्या सुल्झाउने प्रयास गरेको थियो तर निकास निस्किएन। उनीहरूमाथि आइओसीका प्रतिनिधिले परिचालन गरेका मानिसले आक्रमणको प्रयाससहित दुव्र्यवहार गरे। नागरिक दैनिकले खबर छापेकाे छ ।