४ कार्तिक २०८३, बुधबार

कतारले रोक्यो कामदार, साउदी जाने पनि फर्काइए

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । धनुषाका रितेश मण्डल सोमबार बिहान ८ बजे कतार जान त्रिभुवन विमानस्थल पुगेका थिए । सात वर्षदेखि कतारमा काम गर्दै आइरहेका उनी एकमहिने बिदा सकेर फर्कंदै थिए । तर उनलाई कतार एयरवेजले ‘चेक इन’ दिएन ।

टिकट काउन्टरले हमाद विमानस्थल ट्रान्जिट भएर अन्य मुलुकमा जाने यात्रुको ‘चेक इन’ गरे पनि कतारमै प्रवेश गर्नेलाई भने होल्ड गरिरहेको थियो । नेपालस्थित कतार एयरवेजले दोहाबाट ‘चेक इन’ गर्ने कि नगर्ने भन्दै आदेश पर्खिरहेको थियो । अन्तत: हेडक्वाटरबाट आदेश आयो, ‘अर्को सूचना जारी नभएसम्म कतारमा प्रवेश गर्ने कुनै यात्रुलाई चेक इन नगर्नू ।’ झन्डै आधा सिट खाली गरेर ११:२५ बजे कतार एयरवेज दोहा उड्यो । मण्डल भने उड्न पाएनन् ।

‘मेरो कम्पनीसँग सम्पर्क हुन सकेको छैन, तोकिएको दिन ड्युटीमा हाजिर हुन पाइएन भने जागिर क्यान्सिल हुन्छ, अब के हुन्छ थाहा छैन,’ मण्डलले खिन्नता व्यक्त गरे, ‘सायद कम्पनीले परिस्थिति बुझिदेला कि ? मेरो कमजोरीले उड्न नपाएको होइन ।’

कतारको सूचना कार्यालयले आइतबार राति मात्रै नेपालसहित १५ देशबाट भिजिट, अनअराइभल र कामको भिसामा आउने सबै यात्रुलाई अर्को सूचना नभएसम्म कतार प्रवेशमा रोक लगाएको विज्ञप्ति जारी गरेको थियो ।

सोमबार बिहान २:१० मा त्रिभुवन विमानस्थलबाट उडेको विमानले पनि कतार जाने यात्रु बोकेको थियो । त्यसपछि दिउँसो ११:२५ बजे र राति ७:४५ बजे उडेको कतार एयरवेजले कतार प्रवेश गर्ने यात्रु बोकेन । राति १० बजेको नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि यात्रु बोकेनन् । सोमबार मात्रै कतार जाने ५ सय जना विमानस्थलबाट फर्काइएका थिए ।

कतारले आइतबार दोहाको मध्यबजारमा रहेको हाइपरमार्केटमा आएका तीन जना आप्रवासी कामदार कोभिड–१९ बाट संक्रमित भएको पुष्टि भएपछि नेपालसहित १४ देशबाट कामदार आउने प्रक्रियालाई स्थगन गरेको छ ।

दोहास्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेश गर्न रोक लगाएको जनाएको छ । कतार एयरवेजले यसअघि इटालीका लागि सबै उडान बन्द गरिसकेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।