काठमाडौ । एकीकृत नेकपा माओवादीको पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको निर्वाचन आज हुँदैछ ।
एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । एमाओवादीको निर्वाचन समितिले तय गरेको प्रावधानअनुसार १५१ केन्द्रीय सदस्य उम्मेदवार र मतदाता दुवै हुन पाउनेछन् ।
केन्द्रीय समितिले ५१ पोलिटब्युरो सदस्यका लागि मतदान गर्नेछन् । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल गत वैशाखमा नै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट निर्वाचित भइसक्नुभएका कारण ५० पोलिटब्युरो सदस्यका लागि मात्रै निर्वाचन हुनेछ । निर्वाचित पोलिटब्युरोले १७ सदस्यीय स्थायी समिति निर्वाचित गर्नेछ । निर्वाचित स्थायी समितिले पदाधिकारीको निर्वाचन गर्नेछ ।
एमाओवादीको विधानमा आवश्यकताअनुसार उपाध्यक्ष र सचिव रहने व्यवस्था रहेको छ । नेता डा बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाउने सहमति यसअघि नै भएका कारण पदाधिकारीको संख्या नौ पुग्न सक्नेछ । निर्वाचनका लागि सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंको संयोजकत्वमा रामनाथ मैनाली र रामनारायण बिंडारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।
प्रवक्ता दीनानाथ शर्माले केन्द्रीय समितिको बैठकले निर्वाचनको विधि सर्वसम्मतरुपले पारित गरेको जानकारी दिनुभयो । तर नेता भट्टराई पक्षीय नेता मानिने गंगानारायण श्रेष्ठले भने केन्द्रीय समिति विस्तार प्रक्रियामा असहमति रहेका कारण निर्वाचन प्रक्रियामा सहभागी नहुने जानकारी दिनुभयो ।
















प्रतिक्रिया