
काठमाडौँ, २५ फागुन । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आआफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उनले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए ।
उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीहरुको समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरीले सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले संगठनको श्रीवृद्धि गर्नका लागि सबै प्रहरी कर्मचारीहरुले व्यावसायिक निष्ठाका तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने चर्चा गर्दै संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पका साथ पुरा गर्न उपलव्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबल सहित अगाडि बढ्न निर्देशन समेत दिए ।
नेपाल प्रहरीले अंगिकार गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुकोसाथै यस कार्यक्रम मार्फत गरिएका गतिविधि अत्यन्तै फलदायी भइरहेको तथा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उनले बताए ।















प्रतिक्रिया