
काठमाडौँ, २५ फागुन । नेपाल पर्वतारोहण संघले समाचार तोडमोड गरी छापिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सनराइज नेपाल न्युज (www.sunrisenepalnews.com) नामक अनलाइनमा मिति २०७६ फागुन १८ गते आइतबार साँझ प्रकाशित ‘पर्वतारोहण संघलाई परिषदमा लैजाने तयारी’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष सन्तवीर लामाले जनाएका छन् ।
संघले विज्ञप्ति जारी गर्दै संघद्धारा आयोजित दोस्रो वार्षिक आइस क्लाइम्बिङ फेस्टिबलको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीको मन्तव्यलाई तोडमोड गरी समाचार प्रकाशन गरिनु न्यूनतम पत्रकार आचारसंहिताको उल्लंघन भएको संघले दावी गरेको छ ।
नेपाल पर्वतारोहण संघ संस्था दर्ता ऐन २०३४ बमोजिम सञ्चालित एक गैरसरकारी संस्था भएको बताउँदै सचिव अधिकारीले पर्वतीय पर्यटनको क्षेत्रमा थप सकारात्मक कार्य गर्नका लागि तपाईहरु तयार हुनुहुन्छ भने छलफल र सल्लाह गरेर संघलाई परिषदमा पनि लैजान सकिन्छ भनि सचिवद्धारा व्यक्त गरिएको मन्तव्यलाई भ्रम सिर्जना गर्ने गरी कपोकल्पित समाचार बनाइएको संघको विज्ञप्तिमा उल्लेख छ ।
नियमसंगत ढंगले संघले पर्यटन क्षेत्रमा अविछिन्न रुपमा सहकार्य गर्दै आएकोले संघविरुद्ध भ्रमपूर्ण समाचार प्रकाशन गर्ने उक्त अनलाइनमाथि कानूनी कारवाहीको समेत विज्ञप्तिमा माग गरिएको छ ।
















प्रतिक्रिया