४ कार्तिक २०८३, बुधबार

कर तिर्न सास्ती खेप्दै सेवाग्राही

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ फागुन । सुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।

धेरै टाढादेखि आए पनि करदाताले सजिलो तरिकाले कर तिर्ने सुविधा अझै पाउन सकेका छैनन् । धनगढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा कर तिर्न आउने प्रायः करदाताको एउटै गुनासो हुने गर्छ– देशमा जुनसुकै शासन आए पनि कर्मचारीको व्यवहारमा परिवर्तन आएन ।

करदाता मात्रै होइन, लेखापरीक्षकको अनु्भव पनि यस्तै छ । धनगढीका एक लेखापरीक्षकका अनुसार कर तिर्न जाने सेवाग्राहीको गुनासो हुन्छ– कर कार्यालयका कर्मचारीले किन हामीलाई जरिवाना तिर्न आएका अभियुक्त वा अपराधीलाई जस्तो व्यवहार गर्छन् ?

बाख्रापालनसम्बन्धी फर्मको पान नम्बर लिन कर कार्यालय आउनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–१० का उद्धवसिंह धामीले भन्नुभयो, “कुनै कुरा सोध्यो भने कर्मचारी बोल्दैनन् । कर्मचारीले कुनै उपाय नबताएपछि बाध्य भएर आन्तरिक राजस्व कार्यालयको पर्खालबाहिर रहेका करसम्बन्धी लेखापढी गर्ने व्यक्तिको सहारा लिएर काम गरेँ । ”

आन्तरिक राजस्व कार्यालयमा कर तिर्न वा पान नम्बर लिन वा कुनै पनि कामविशेषले आउने प्रायः सेवाग्राहीको अनुभव यस्तो छ– सेवाग्राहीसँग बोल्नुपर्दा कर्मचारीहरू पैसा पर्छ झैँ गर्छन् ।

कैलालीको कैलारी गाउँपालिका रतनपुरका रमेश चौधरीले भन्नुभयो, “हामी करदातालाई कर्मचारीले उचित सम्मानसहित सेवा दिनुपर्ने होइन ? हामीले बुझाएको करले राज्य सञ्चालन हुन्छ, तलब सेवासुविधा पाउँछन् ।” गाेरखापत्र दैनिकले खबर छापेकाे छ ।