४ कार्तिक २०८३, बुधबार

बेन्च–बारको दूरी बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पफागुन । सर्वोच्च अदालतमा न्याय निरूपण गर्ने इजलास (बेन्च) र बहस पैरवी गर्ने कानुन व्यवसायी (बार) बस्ने ठाउँको दूरी बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण कानुन व्यवसायी बस्ने ठाउँ सारेर इजलासभन्दा पर पुर्‍याइएको हो ।

‘बहस पैरवी गर्न आउने विद्वान् महोदयहरूबाट (न्यायाधीशले कानुन व्यवसायीलाई विद्वान् भनी सम्बोधन गर्छन्) कोरोना संक्रमणको जोखिम हुने हो कि भन्ने भएकाले सुरक्षित रहन उहाँहरू (कानुन व्यवसायी) बस्ने र उठेर बहस गर्ने ठाउँ पछाडि धकेलिएको हो,’ सर्वोच्च अदालतका एक न्यायाधीशले कान्तिपुरसँग भने, ‘केही न केही सुरक्षाका उपाय त अपनाउनुपर्‍यो भनेर यस्तो व्यवस्था मिलाइएको हो ।’

विश्व स्वास्थ्य संगठनका अनुसार सम्मुख रहने व्यक्तिहरूमा कोरोना भाइरस सर्ने जोखिम सबैभन्दा बढी हुन्छ । श्वास–प्रश्वास, हाच्छिउँ गर्दा, खोक्दा अनि बोल्दा र अन्य अवस्थामा मुखबाट निस्किने पानीका स–साना थोपा (ड्रप्लेट) बाट पनि कोरोना सर्छ । यसैले हाल शंकास्पद वा रुघाखोकी भएका व्यक्तिसँग न्यूनतम एक मिटरको दूरी कायम राख्ने सल्लाह डब्लूएचओले दिएको छ ।

पुरानो व्यवस्थाअनुसार इजलासको सबैभन्दा माथिल्लो तहमा न्यायाधीशहरू बस्ने कुर्सी र टेबुल हुन्छ । त्यसपछि तल्लो र दोस्रो तहमा न्यायाधीशलाई सहयोग गर्ने इजलास अधिकृतको कक्ष रहन्छ ।

त्यसपछिको तल्लो भुइँमा कानुन व्यवसायीको टेबुल र उनीहरूले बहस गर्ने कठघरा हुन्छ । त्यसको पछिल्तिर मुद्दाको सरोकारवाला व्यक्ति अनि अन्य दर्शक रहन्थे । अहिले कानुन व्यवसायीहरूको टेबुल र कुर्सी अझै पछाडि सारेर इजलाससँग सम्मुख हुने दूरी बढाइएको हो ।

दुई/तीन दिनयता इजलास र बहस गर्ने कानुन व्यवसायीहरूको दूरी कम्तीमा साढे २ मिटर हुने गरी व्यवस्था गरिएको जानकारी अदालत प्रशासनका एक कर्मचारीले दिए । ठूला कोठा भएका कक्षमा मिल्नेजति दूरी कायम गरिएको छ । यसो गर्दा कानुन व्यवसायी र मुद्दाका पक्षहरू बस्ने भागको दूरी कम भएको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार केही साताअघि एक जना न्यायाधीश श्वास–प्रश्वाससम्बन्धी एउटा संक्रमणबाट पीडित थिए । ‘त्यसपछि सबै श्रीमानहरूले औषधि लिनुभयो, त्यही बेलादेखि कुरा त उठेको हो,’ सर्वोच्च प्रशासन स्रोतले भन्यो, ‘अहिले भने श्रीमान्हरूबीच छलफल गरेर संक्रमणबाट जोगिने उपायका रूपमा बहस गर्ने ठाउँ टाढा सारिएको हो ।’ उनका अनुसार अहिले मुद्दाका पक्ष/विपक्षबाहेकलाई बहसका क्रममा इजलासमा उपस्थित नहुनसमेत आग्रह गरिएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।