४ कार्तिक २०८३, बुधबार

यसकारण हटाइए लीलामणि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ। पूर्वमुख्य सचिव पौडेललाई पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०७३ मा राजदूत बनाएर चीन पठाएको थियो।

पौडेललाई एकाएक फिर्ता बोलाउनुको पछाडि कतिपयले नेकपाका दुई अध्यक्षबीचको राजनीतिक प्रतिशोध भनी अथ्र्याउने गरेका छन्। कतिपयले यो निर्णयलाई ललितानिवास जग्गा हिनामिना प्रकरणसँग जोडेर हेर्ने गरेका छन्। उक्त प्रकरणसँग जोडिएको भन्दै पौडेलसहित अन्य केहीमाथि हाल अनुसन्धान भइरहेको नेपाल प्रहरीको सिआइबी स्रोतले जनाएको छ।

पौडेल राजदूत भएकै बेला मुद्दा अघि बढ्दा होस्ट मुलुकमा नकारात्मक सन्देश जाने भएकाले सरकारले फिर्ता बोलाउने निर्णय गरेको स्रोतको भनाइ छ। पौडेलले चीनका लागि राजदूतको जिम्मेवारी सम्हालिरहेका बेला नेपाल–चीनबीच कतिपय ऐतिहासिक महŒव राख्ने काम भएका छन्। उनकै कार्यकालमा लामो समयदेखि हुन नसकेको चिनियाँ उच्च राजनीतिक नेतृत्वको नेपाल भ्रमण भएको छ। राष्ट्रपति सी चिन फिङले गत अक्टोबरमा दुईदिने नेपाल भ्रमण गरेका थिए। त्यस्तै हालै कोरोना (कोभिड–१९) को उत्पत्ति स्थल चीनको वुहानबाट एक सय ७५ जना नेपाली विद्यार्थी फिर्ता ल्याउने सन्दर्भमा पनि पौडेलले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए।

चीनमा रहँदा दुई देशबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई फिर्ता बोलाउनुपर्ने खास कारण ललितानिवास जग्गा हिनामिना प्रकरण नै रहेको नेकपा स्रोतले बताएको छ। नेकपाका दुई अध्यक्षबीच एकअर्काका निकट मानिनेप्रति प्रतिशोध साध्ने प्रतिस्पर्धा चलिरहेकाले पौडेल त्यसैको घानमा परेको कतिपयको तर्क छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष दाहालनिकट नेता एवं तत्कालीन सभामुख कृष्णबहादुर महराप्रति प्रतिशोध साधेको र त्यसको बदलामा दाहालले ओलीनिकट मानिने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग प्रतिशोध साधेको नेकपाका कतिपय नेताको दाबी छ। यसै सिलसिलामा दाहाल नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका पौडेललाई पनि फिर्ता बोलाएर ओलीले प्रतिशोध साधेको स्रोतले बतायो।

तर नेकपाकै केही नेताले पौडेलले राजदूतका रूपमा गरेका कामबाट सरकारलाई फाइदा हुने काम भएकाले प्रतिशोध साध्नुपर्ने अवस्था नभएको तर उनीमाथि ललितानिवास जग्गा हिनामिना प्रकरणमा छानबिन भइरहेकाले फिर्ता बोलाउनुपरेको बताउने गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतले पनि ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएकैले पौडेललाई फिर्ता बोलाउनुपरेको दाबी गरेको छ। ‘उहाँले गरिरहेको कामबाट सरकार असन्तुष्ट हुनुपर्ने वा प्रतिशोध साध्नुपर्ने अवस्था देखिँदैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘अन्य कारणले उहाँलाई फिर्ता बोलाइएको हो।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेललाई बोलाउनुको कारण चीनमा उच्च राजनीतिक नेतृत्वलाई राजदूत बनाएर पठाउनु रहेको बताएका थिए। राजदूतका रूपमा राम्रो छवि बनाइरहेका पौडेललाई एक्कासि फिर्ता बोलाएर उच्च राजनीतिक नेतृत्वलाई पठाउने भन्ने ज्ञवालीको तर्कप्रति भने सहमत हुन नसकिने कूटनीतिक क्षेत्रका जानकार बताउँछन्। नागरिक दैनिकले खबर छापेकाे छ ।