४ कार्तिक २०८३, बुधबार

कोभिड–१९ को प्रभाव : नाकाहरूमा निगरानी कमजोर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २२ फागुन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन सीमावर्ती भारततर्फ स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

भारतीय सुरक्षाकर्मीले दुई सातादेखि मास्कको प्रयोग अनिवार्य गरेका छन् । तुलनात्मक रूपमा नेपालतर्फ भने सतर्कताका गतिविधि कम छ । भारतबाट भित्रिनेको जाँच थालिएको छैन ।

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा भीमदत्त नगरपालिकाले राखेको हेल्थ डेस्कले ज्वरो नाप्ने र पर्चा पम्प्लेट बाँड्ने गरिरहेको छ । ‘शंकास्पद अवस्थाका बिरामी भेटिएका छैनन्,’ डेस्कमा खटिएकी अनमी निर्मला जोशीले भनिन् । गड्डाचौकी नाका भएर दैनिक सयौं नेपाली र भारतीय आउजाउ गर्छन् भने दर्जनभन्दा बढी नेपाल–भारत मैत्री बससमेत सञ्चालनमा छन् । भारतको राजधानी नयाँ दिल्ली महेन्द्रनगरबाट साढे ३ सय किमि दूरीमा छ । नाकामा स्वास्थ्य जाँच कडा पार्न उपकरण र जनशक्ति नभएको जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले बताए । ‘त्यसरी काम गर्न निर्देशन पनि आएको छैन,’ उनले भने ।

भारतसँग सीमा जोडिएका विभिन्न क्षेत्रबाट आवागमन हुने गरेको छ । ब्रह्मदेव, गड्डाचौकी हुँदै दोधारा–चाँदनी तथा दक्षिणी क्षेत्रमा बेल्डाडी, बेलौरी र पुनर्वासका विभिन्न नाकाबाट आवागमन हुने गरेको छ । कतै पनि सतर्कताका काम थालिएका छैनन् । महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले कोभिड– १९ को लक्षण देखिएका बिरामी राख्न छुट्टै उपचार कक्ष तयार गरिएको बताए ।

‘अस्पतालका धेरैजसो बेड खाली छन् । आकस्मिक अवस्था आए शंकास्पद बिरामी राख्न हामीलाई ठाउँ अभाव नहोला,’ उनले भने । संक्रमणबाट सावधानीका लागि मास्कको प्रयोग बढेपछि कालोबजारी सुरु भएको छ । केही साताअघिसम्म १५ रुपैयाँमा पाइने मास्कलाई व्यापारीले ५० रुपैयाँमा बेच्न थालेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।