
काठमाडौँ, २० फगुन । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ ।
अत्यावश्यक बाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको उनले बताए ।
‘सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ’, मन्त्री यादवले भने, ‘त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।’
कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनले जानकारी दिए ।
ठूलो सङ्ख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र ओमानमा पनि कोरोना सङ्क्रमित फेला परिसकेका छन् ।
कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्याङ्क छ ।















प्रतिक्रिया