४ कार्तिक २०८३, बुधबार

मुस्कुराउँदै अस्पताल भर्ना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ गाडीबाट ओर्लनेबित्तिकै प्रधानमन्त्री केपी ओली शुभेच्छुकसामु मुस्कुराए। उनी सञ्चारकर्मीसँग बोलेनन्। प्रसन्न मुद्रामा हात हल्लाए। प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए।

ओलीलाई मिर्गौला दिन चार घण्टाअघि नै अस्पताल पुगेकी थिइन्, ३२ वर्षीया समीक्षा संग्रौला। गाडीबाट ओर्लनेबित्तिकै संग्रौला आकर्षणको केन्द्र बनिन्। दर्जनाैं फोटोग्राफरले पछ्याएपछि उनी पनि मुस्कुराउँदै भित्र छिरिन्।

संग्रौला र लिने प्रधानमन्त्री ओलीबीच मामा, भान्जीको साइनो छ। दुवैजना चार घण्टा फरकमा अस्पताल पुगेका थिए। अस्पतालका कार्यकारी निर्देशक डा. खड्गाले भने, ‘प्रधानमन्त्रीज्यूलाई भर्ना गरेर अब्जरभेसनमा राखिएको छ। स्वास्थ्य जाँचलगायतका कार्य सुरु गरिएको छ।’

मिर्गौला दान दिने र लिनेबीच सहमतिका आधारमा निवेदनसमेत दिइएकाले प्रत्यारोपण प्रक्रिया अगाडि बढाइएको छ। निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिए सम्बन्धित व्यक्तिलाई अंग दान वा अंग ग्रहण गर्न स्वीकृति दिने कानुनी व्यवस्था छ। संग्रौलाले सहमतिसहित स्वेच्छाले अंग दान गर्न लिखित मन्जुरी दिइसकेकी छन्।

प्रत्यारोपणमा संलग्न टिम

प्रत्यारोपणमा शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख प्रा.डा.दिव्या सिंह शाहले समन्वय गरेकी छन्। उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन्। प्रत्यारोपणका लागि शल्यचिकित्सकको भूमिकामा शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम शर्मा रहनेछन्। युरोलोजी विभागका पूर्वविभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा प्रेमराज ज्ञवाली पनि संलग्न छन्।

सल्यक्रियामा नेफ्रोलोजी विभागका डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल, डा. महेश प्रधानलगायतका चिकित्सक संलग्न हुने अस्पतालले जनाएको छ।

प्रत्यारोपण सफल भएपछि मिर्गौला दाता संग्रौला तीन÷चार दिनमा डिस्चार्ज हुन सक्नेछिन्। प्रत्यारोपणपछि प्रधानमन्त्री ओली भने एक साता आराम गर्नुपर्ने हुन सक्छ। ‘दुवै जनालाई डिस्चार्जका लागि एक साता लाग्न सक्छ’, डा. खड्गाले भने। तर, प्रत्यारोपणमा संलग्न एक चिकित्सकका अनुसार ७ देखि १० दिनभित्र डिस्चार्ज गर्ने योजना छ।

भारतीय सर्जन आए

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेक डा. अनन्त कुमार पनि प्रत्यारोपणका क्रममा सामेल हुने छन्। ‘डा. अनन्त कुमारलाई ब्याक सपोर्टका लागि बोलाइएको हो। प्रत्यारोपण नेपाली चिकित्सकबाटै हुनेछ’, प्रत्यारोपणमा संलग्न एक चिकित्सकले भने।

डा. अनन्त दिल्लीस्थित म्याक्स अस्पतालको मिर्गौला प्रत्यारोपण विभागमा निर्देशक छन्। प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण अपोलो अस्पतालमा गरेका थिए।

प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

कस्तो हुनेछ, खानपान र जाँच

प्रधानमन्त्री ओली र मिर्गौला दाता संग्रौलाले मंगलबार बिहान र दिउँसो सामान्य खान पाउनेछन्। तर, साँझ भने खाली पेट बस्नुपर्नेछ। ‘प्रत्यारोपण गर्ने दिनअघिको बेलुका दुवैलाई खाली पेट राख्नुपर्ने हुन्छ’, प्रत्यारोपणमा संलग्न एक चिकित्सकले भने।

प्रधानमन्त्री ओली र संग्रौलाको रक्तचाप, नाडी, शरीरको तापक्रम मापन गरिनेछ। रक्तचाप तलमाथि भएमा मुटुसम्बन्धी ईसीजी वा इकोकार्डियो गरिनेछ। ‘सबै अंगको परीक्षण गरिसकिएकाले हामी प्रत्यारोपणको तयारीमा छौं। औपचारिक प्रक्रिया पनि अवलम्बन गर्नुपर्ने हुन्छ। प्रत्यारोपणमा तीन÷चार घण्टा लाग्न सक्छ’, ती चिकित्सकले भने। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।