
हेटौँडा, १९ फागुन । विवेकशील नेपाली दलका नेता तथा वागमति प्रदेश सभा सदस्य बिराजभक्त श्रेष्ठले ब्लड क्यान्सरबाट पिडित पत्रकार कमल पौडेललाई सहयोग गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छन् । सोमबार हेटौडामा प्रदेश सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सो कुरा बताएका हुन् ।
दशकौँदेखि सक्रिय र निष्ठाको पत्रकारिता गर्दै आउनुभएका सञ्चाकर्मी कमल पौडेल ब्लड क्यान्सरबाट पिडित भई निजामति अस्पताल मीनभवनमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारका लागि सहायता प्रदान गर्न सदनमार्फत प्रदेश सरकारसँग माग गर्दछु ।’ सदनमा बोल्दै सांसद श्रेष्ठले भने ।
योसँगै विभिन्न भुमिगत र सशस्त्र क्रान्ति तथा जनआन्दोलनहरुमा राजनीतिक दलहरुलाई सत्ताप्राप्त गर्न सहयोगी सञ्चारकर्मीहरु कालान्तरमा सत्तामा पुगेपछि तिनै व्यक्तिबाट पीडित हुनुपरेको पनि श्रेष्ठको आरोप छ ।’ साँचो अर्थमा नागरिकको स्वतन्त्रताको लडाईँमा अहं भूमिका खेल्ने सञ्चारकर्मीहरु सत्तामा पुगेपछि तिनैबाट पिडित हुन्छन र बहिष्कृत हुन्छन् ।’
श्रेष्ठले भने, ’अहिले पनि युवाहरु सञ्चारकर्मप्रति आकर्षित छन् भने सञ्चारजगतले अहंङ्कारी सत्तालाई असल प्रतिपक्ष भएर चुनौति दिँदै नागरिकका स्वतन्त्रता बचाईरहेको छ ।’
सांसद श्रेष्ठले हरेक नागरिक करोडौँ पर्ने उपचार आफै गर्न नसक्ने र सबै नागरिक ठूलो सञ्जालबाट सहयोग जुटाउन पनि सक्षम नहुने भएकाले कम्तिमा संविधानले निर्देशित गरेको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनैपर्ने बताए । समाजवादउन्मुख राज्यमा स्वास्थ्योपचारको जिम्मा राज्यले लिनुपर्ने उनको तर्क थियो ।















प्रतिक्रिया