४ कार्तिक २०८३, बुधबार

कोरोना आयो भने नेपालमा जोगिने तयारी कमजोर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारी फैलिएरहेका बेला नेपालमा सतर्कताका लागि तयारी कमजोर देखिएको छ। नेपाल कोरोनाको उच्च जोखिममा रहे पनि पूर्वाधारलगायतका तयारी सुस्त छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमणको सम्भावित स्वरूप, परीक्षण, निदानलगायतमा सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। गृह मन्त्रालयका अधिकारीहरू चीन, भारत, युरोप, अमेरिकाजस्ता सम्पन्न देशबाट स्वास्थ्य जाँचका कयौं प्रक्रिया पार गरेर पर्यटक आउने हुँदा आत्तिनु नपर्ने बताउँछन्। प्रवक्ता केदारनाथ शर्माले विकसित मुलुकबाट भित्रिने पर्यटक पूर्ण चेकजाँच भएर आउने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘द्रुत गतिमा सतर्कता अपनाउनुपर्नेछ। पूर्वाधारलगायतका सवालमा युद्धस्तरमा तयारी गर्नुपर्ने खाँचो छ।’

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. हेमन्तचन्द्र ओझाले दैनिक नेपाल भित्रिने १० देखि १२ फ्लाइटका प्रत्येक यात्रुलाई थर्मल स्क्यानरले जाँच गर्ने बताए। उनका अनुसार त्रिभुवन विमानस्थलले प्यासेन्जर लोकेटर फर्म ल्याउने तयारी गरेको छ।

त्रिभुवन विमानस्थलमा ५ वटा हेल्थ डेस्कमा पर्यटकको परीक्षण भइरहेको छ। ज्वरो आएका र श्वासप्रश्वासमा समस्या देखिएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिन्छ। चीनबाट आएका एक जना नेपाली विद्यार्थीमा एक महिना अघि भाइरस पोजेटिभ देखिएको थियो। ३२ वर्षीय ती युवा अहिले स्वस्थ रहेको जनाइएको छ।

कोरोना भाइरसको जोखिमबाट नेपाल मुक्त नभइसकेको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए। उनले भने, ‘सतर्कता र पूर्वतयारीका कार्यक्रम आवश्यक छ।’

आयातनिर्यातमा असरछिमेकी मुलुकमा कोरोनाको संक्रमण बढेपछि नेपालको आयात निर्यात, पर्यटन, वैदेशिक लगानी, रेमिट्यान्स र विकास निर्माणका क्षेत्रमा असर देखिन थालेका छन्। चीन, दक्षिण कोरिया, जापानलगायतका मुलुकमा संक्रमण बढेपछि श्रमबजारमा समेत प्रत्यक्ष असर देखिएको छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘न त हामी पर्यटक आवागमन रोक्न सक्छौं, न त आयात नगरी बाँच्न सक्छौं। परनिर्भर मुलुक भएकोले चुनौती धेरै छ।’

यस्तो छ तयारी संक्रमण प्रभावित मुलुकबाट उद्धार गरिएका नेपाली र पर्यटकको त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गरिन्छ। उपचारका लागि अस्पतालसम्म लैजान चौबीसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ।

उद्धार गरी ल्याइएका र पर्यटकका रुपमा आएका व्यक्तिको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरणपछि स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।

चीनबाट फर्किएका १ सय ७५ जना नेपाली अहिले भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेको क्यारेन्टाइनमा छन्। उनीहरुको थ्रोट स्वाव परीक्षण गर्दा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।