१ कार्तिक २०८३, आइतबार

प्रहरीले आफूलाई समयसापेक्ष दक्ष र आचरणयुक्त बनाउनुपर्छ : महानिरीक्षक ज्ञवाली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १६ फागुन । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले व्यवसायिक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समयसापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्ने बताएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा शुक्रबार उक्त कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक ज्ञवालीले समयको परिवर्तनसँगै आम नागरिकको प्रहरीप्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गइरहेको र नागरिकले प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरीले पनि नागरिकप्रति उत्तरदायी भई थप जनमुखी प्रहरी सेवा प्रदान गर्नुपर्ने उल्लेख गरे ।

मानव अधिकारको संरक्षण एवं प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने चर्चा गर्दै उनले राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख अंग प्रहरी संगठनका कुनै पनि प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने छुट नभएको स्पष्ट पारे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले धन्यवाद व्यक्त गर्दै प्रहरी महानिरीक्षकज्यूबाट प्राप्त निर्देशनलाई आत्मसाथ गरी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई सदैव चुस्तदुरुस्त राख्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख लगायत गण्डकी प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुख, ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा पोखरास्थित विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।