बुटवल, १५ फागुन । सरकारले बिजनेस दिन नसक्दा प्रदेश ५ मा प्रदेशसभा बैठक नियमित हुन सकेको छैन। बर्से अधिवेशन सकिएको चार महिनापछि डाकिएको हिउँदे अधिवेशनमा डेढ महिनामा चारवटा मात्रै बैठक बसेको छ। बर्से अधिवेशन असोज २ गते सकिएको थियो। त्यसपछि चाडपर्व र निर्वाचनको बहाना बनाइयो।
माघ ५ गते हिउँदे अधिवेशन सुरु त भयोे तर नियमित हुन सकेको छैन। पहिलो बैठक शुभकामना आदान–प्रदानमै सकियो। दोस्रो बैठकले प्रतिपक्षी दलका नेताको शोक प्रस्ताव पारित ग-यो ।
फागुन ६ गतेको चौथो बैठकमा तीनवटा विधेयक पेस भए। त्यसयता सदन स्थगित छ। सदन सञ्चालन नहुँदा कानुन निर्माण गर्ने महत्वपूर्ण जिम्मेबारी पाएका सभासदहरू फुर्सदिला छन्। संसद् भवन सुनसान छ।
सरकारले प्रदेश सभासदहरूका लागि आवासबापत भत्ता सुविधा दिइए पनि जिल्ला बाहिरका सबैजसो सभासद आफ्नै गृह जिल्लामा बस्छन्। सदन नियमित नहुँदा कोठा भाडा लिए पनि फाल्तु हुनुपर्ने भएकाले सभासदहरू गृह जिल्लामै बस्ने गरेको बाँकेका सभासद इन्द्रप्रसाद खरेलले बताए ।
सदन नियमित नहुँदा संसद्मा पेस भएका विधेयकमा प्रशस्त छलफलसमेत हुन नपाएको र सीमित सभासदहरूले मात्रै धारणा राख्ने मौका पाएको उनले बताए। ‘सदन नियमित भए पो सबैको पालो आउँछ ।
१०/१५ दिनमा बैठक बोलाइन्छ। धेरैले बोल्ने पालै पाउँदैनन्,’ सभासद खरेल भने। सदन नै नियमित नभएपछि आफ्नै जिल्लामा बसेर जनताकै सेवामा जुटिरहेको उनले भनाइ छ। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया