१ कार्तिक २०८३, आइतबार

ऊर्जामन्त्री पुनद्वारा क्याम्पसका लागि ८ रोपनी जग्गा दान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १४ फागुन । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्नो जन्मथलो रोल्पाको माडीचौरमा स्थापित कृषि क्याम्पसका लागि ८ रोपनी जग्गा निःशुल्क दान गरेका छन् ।

मन्त्री पुनले रोल्पा नगरपालिका–७ माडीचौरमा रहेको कृषि तथा वन विज्ञान संकायअन्तर्गतको प्रकृतिक व्यवस्थापन क्याम्पसका लागि आफ्नो पैत्रिक सम्पत्तिबाट उक्त जग्गा दान गरेका हुन् ।

हेरक प्रदेशमा कम्तिमा एक कृषि क्याम्पस स्थापना गर्ने सरकारको नीतिअनुसार प्रदेश–५ को माडीचौरमा कृषि क्याम्पस स्थापना भएको हो ।

नवआगन्तुक विद्यार्थीको स्वागत तथा कक्षा सञ्चालनको शुभारम्भ गर्दै मन्त्री पुनले क्याम्पस निर्माणका लागि आफूले ८ पैत्रिक सम्पत्तिबाट पाएको १० रोपनीमध्ये ८ रोपनी क्याम्पसलाई निःशुल्क उपलब्ध गराएको घोषणा गरे ।

मन्त्री पुनले प्राविधिक शिक्षामा लगानी बढाउने राज्यको नीतिअनुसारै आफूले गत वर्ष संसद विकास कोषबाट एक करोड र यस आर्थिक वर्षमा ३५ लाख रुपैयाँ क्याम्पसका लागि उपलब्ध गराएको पनि जानकारी दिए । यस्तै सहयोगी दातालाई आग्रह गरेर आफूले क्याम्पसका लागि ८ थान कम्प्युटर र प्रिन्टर दिएको सुनाए ।

विभिन्न जिल्लाबाट आएका विद्यार्थीलाई आफू घर, परिवार र आफ्नो ठाउँबाट टाढा गएर पढ्नेपरेको महसुस नगराउनका लागि क्याम्पसको भौतिक पूर्वाधारमा आफूले जोड दिएको र आगामी दिनमा पनि निरन्तर क्याम्पसको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता मन्त्री पुनको थियो ।

यस्तै उनले आफ्नो मन्त्रालयमातहतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत तत्काल १० किलोवाटको सोलार सिस्टम अनुदानस्वरुप क्याम्पसलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

विगतमा नेपालले कृषि उपज विदेश निर्यात गर्ने गरेकामा पछिल्लो दशकमा दाल, चामल, गहुँ, मकै, माछा, मासुजस्ता कृषि उत्पादन आयात गरिरहेको भन्दै उनले कृषिका विद्यार्थीले मुलुकलाई आत्मनिर्भर बनाउन भूमिका खेल्न सुझाव दिए ।

‘रेमिट्यान्सबाट आएको पैसा कृषि उत्पादन आयात गर्दा बाहिरै जाने गरेको छ’, मन्त्री पुनले भन्नुभयो, ‘यो अवस्था अन्त्य गर्न सरकारले पनि काम गरिरहेको छ, तपाईंहरुजस्ता कृषि विषय पढेका र पढ्न लागेका विद्यार्थीको मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन भूमिका खेल्नुपर्छ ।’

आफूले अष्टेलिया र स्वीट्जरल्याण्डमा नेपालका कृषि प्राविधिक भेटेको प्रसंग कोट्याउँदै उनले अध्ययन सकेपछि देशभित्रै सरकारी वा निजी क्षेत्रमा काम गर्न वा व्यवसायमा संलग्न हुन कृषि विषयका विद्यार्थीलाई आग्रह गरे ।

‘देशले लगानी गरेर उत्पादन गरेको दक्ष जनशक्ति बाहिर पलायन हुने मुलुकका लागि घाटा हो’, मन्त्री पुनले भने, ‘तपाईंहरु पढाई सकेर देशभित्रै काम गर्नुहोला ।’

हाल नेपालले १५ खर्ब वैदेशिक व्यापारमध्ये १४ खर्ब घाटा व्यहोर्नुपरिरहेको भन्दै मन्त्री पुनले व्यापार घाटा कम गर्न कृषिमा लगानी गर्नुको विकल्प नरहेको स्पष्ट गरे ।

फरक प्रसंगमा उनले आगामी असारमा माथिल्लो तामाकोसी आयोजनाको निर्माण सम्पन्न भएसँगै ४ सय मेगाबाट भन्दा बढी बिजुली निर्यात गर्ने तयारीमा उर्जा मन्त्रालय रहेको जानकारी दिए ।

१० वर्षमा १५ हजार मेगाबाट विद्युत उत्पादन गर्ने र १० मेगावाट आन्तरिक खपतमा प्रयोग गरी बाँकी ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो ।

विद्यालयलाई पुन दम्पत्तिबाट एक/एक लाख

यसैबीच मन्त्री पुनले रोल्पा नगरपालिका–२ स्थित पिताराज आधारभूत विद्यालयको अक्षयकोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।

विद्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पुनका उक्त घोषणा गरेका हुन् । पुन पत्नीसमेत रहेकी पूर्वसभमुख एवं प्रतिनिधिसभा सदस्य ओनसरी घर्तीले पनि पिताराज आधारभूत विद्यालयको अक्षयकोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।