मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेकपा रुपन्देहीले ३ महिने यस्तो विशेष अभियान चलाउँदै

प्रतिक पौडेल २०७६ फागुन १४ गते १९:२२

-प्रतिक पौडेल
भैरहवा, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले तीन महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । वुधबार बुटवलमा बसेको नेकपा रुपन्देहीको तेस्रो पूर्ण बैठकले तीन महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको हो ।

पार्टीका केन्द्र र प्रदेश कमिटीका हालै सम्पन्न बैठकले सबै ७७ वटै जिल्लामा यसखालका परिचालन अभियान सञ्चालन गर्न निर्देशन गरेको थियो ।

नेकपा रुपन्देहीका संयोजक शिवराज सुवेदीको अध्यक्षतामा वुधबार बुटवलमा बसेको बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिनुका साथै सल्लाहकार परिषद् गठन र सदस्यहरु मनोनित गरेको छ ।

रुपन्देहीमा पार्टी र पार्टीले नेतृत्व गरेका विभिन्न तहमा सरकारका कामहरुका बारेमा जानकारी गराउनुका साथै सरकारका र पार्टीका कामहरुलाई जनस्तरमा पुर्याउने गरी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाइँले जानकारी दिए ।

नेकपा रुपन्देहीले करिब आठ सय जना अगुवाहरूलाई कमिटीमा समावेश गर्दै विभिन्न जिम्मेवारी समेत तोकेको छ ।

सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, २८ वटा विभाग, प्रतिनिधि तथा प्रदेशका निर्वाचन क्षेत्रीय कमिटी, लेखा समिति, निर्वाचन समिति र संयन्त्र निर्माणका विभागहरू मार्फत ती आठ सय जना अगुवा कार्यकर्ताहरुलाई परिचालन गरिएको प्रचार विभाग प्रमुख चापागाइँले बताए ।

यस अघिको दोस्रो बैठकले विभागका प्रमुख उपप्रमुख, पाँच वटा निर्वाचन क्षेत्रीय र १० वटा प्रदेश निर्वाचन क्षेत्रीय कमिटीका प्रमुख, सचिव तथा केही कमिटीका इञ्चार्ज, सह–इञ्चार्ज र सचिवहरु तोकेको थियो ।

वुधबारको बैठकले तीनै कमिटीहरुलाई पूर्णता दिएको छ । पाँच वटा निर्वाचन क्षेत्रीय कमिटी र १० वटा प्रदेशसभाका कमिटीहरूमा दुई सय ५५ जनालाई मनोनयन गरिएको छ ।

यस्तै एक सय ५० जनाभन्दा धेरै रहेको सल्लाहकार परिषद् गठन गर्नुका साथै विभिन्न २८ वटा विभागहरु र सबै निर्वाचन क्षेत्रमा प्रतिनिधित्व हुने गरी सदस्यहरु मनोनित गरिएको छ ।

सरकारले गरेका कामको सूची बनाएर जनस्तरमा जाऔँ

बैठकमा नेकपाका स्थायी समिति सदस्य, पाँच नम्बर प्रदेश कमिटीका इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्य डिलाराम आचार्य लगायतले सम्बोधन गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री पोखरेलले पार्टीले नेतृत्व गरेका तीनै तहमा महत्वपूर्ण कामहरु भएको तर पार्टी कार्यकर्ताहरुले त्यसको सही ढंगले जस लिन नसकेको गुनासो गरे ।

‘अहिलेसम्म भए/गरेका कामहरुको सूची र टिपोर्ट मात्रै बनाएर भएपनि जनस्तरमा जानुस् ८० प्रतिशत गुनासाको सम्बोधन हुन्छ’ उनले भने, ‘काम नभएर होइन कामको सही ढंगले प्रचार–प्रसार नभएर गुनासाहरु आएका हुन् ।’

उनले अगुवा कार्यकर्ताहरुले सरकारले गरेका कामहरुलाई विभिन्न तह, कमिटीका कार्यकर्ताहरु मार्फत जनस्तरसम्म पु¥याउन निर्देशनात्मक भनाइ राखेका थिए ।

‘तीनै तहले गरेका कमहरूको सूची अगाडि राखेर जनस्तरमा जानुस् जनताले सही सूचना नपाएका कारणले पनि गुनासा र केही चाहना राखेको अवस्था छ ।’

तीन महिने अभियानमा पार्टीका हरेक नेता कार्यकर्ता आ–आफ्नो भुगोल र कार्यक्षेत्रमा अनिवार्य रूपमा सहभागी हुन उनले निर्देशन दिए । त्यसरी सहभागी हुँदा जनस्तरबाट आउने सुझाव तथा गुनासाहरुलाई टिपोर्ट गर्ने, समस्याको पहिचान गर्दै तीनको सम्बोधन तथा समाधानमा सहयोग पुग्ने बताए ।

समुदाय केन्द्रित अभियानलाई प्रभावकारी बनाउन सक्दा नै सरकारले गरेका कामहरुको प्रचार हुने र पार्टीले अपनत्व लिन सहज हुने उनको भनाइ थियो ।

बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज लिला गिरी, केन्द्रीय सदस्य तथा रुपन्देहीका सह–इञ्चार्ज दधिराम न्यौपाने लगायतका नेताहरुको सहभागिता थियो । बैठकको सञ्चालन नेकपा रुपन्देहीका सचिव निर्मल जिसीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित