४ कार्तिक २०८३, बुधबार

काभ्रेमा ९७ आइटी ल्याब स्थापना गर्न दबाब

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो। यसका लागि प्राधिकरणले ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ बनाएको थियो। यो कार्यविधिले निर्वाचन क्षेत्र हेरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनेको छ। कार्यविधिको यो व्यवस्थालाई मिचेर बास्कोटाले काभ्रेमा मात्र ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन्। बास्कोटा प्राधिकरणको तालुक मन्त्रालयका मन्त्री थिए भने काभ्रे उनको गृह जिल्ला हो।

कार्यविधिअनुसार दुई निर्वाचन क्षेत्र भएको काभ्रेमा बढीमा १०–१२ वटासम्म सूचना प्रविधि प्रयोगशाला बनाउन सकिन्थ्यो। तर मन्त्रीले दबाब दिएपछि काभ्रेमा ९७ वटा प्रयोगशाला स्थापना गर्नेगरी कार्यक्रम समावेश गरिएको प्राधिकरण उच्च स्रोतले बतायो। ‘मन्त्री बास्कोटाले काभ्रेमा यति संख्यामा प्रयोगशाला बनाउन विद्यालय छनोट गर्नुस् भनेपछि हामीले नमान्नुको विकल्प छैन,’ उक्त स्रोतले भन्यो।

कार्यविधिमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्ला तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट पूर्व), नवलपरासी (बर्दघाट पश्चिम) र सुनसरीमा रहेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कम्तीमा ६ वटा र अन्य जिल्लाको हकमा चारवटाका दरले प्रयोगशाला बनाउने भनिएको छ। प्रयोगशाला सामुदायिक विद्यालयमा बनाउनुपर्ने व्यवस्था गरिएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।