१ कार्तिक २०८३, आइतबार

स्नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँ : मन्त्री पुन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १३ फागुन । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्ना एक छोरा र एक छोरीलाई स्नातक (बीए) पछि आफूले खर्च दिएर नपढाउने घोषणा गरेका छन् ।

मन्त्री पुनले स्नातक तहपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको उल्लेख गरे ।

‘मेरो एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन अस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भने, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ । म आर्थिक दायित्व लिन सक्दिन आफैं कमाएर पढ्नु भनिसकेको छु ।’

मन्त्री पुनले प्रमाणपत्र तह अध्ययन गरेका विद्यार्थीले आफैँ काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु बिडम्बना भएको बताए । उनले आफूले जस्तै छोराछोरीलाई आफैँ कमाएर पढ्नका लागि प्रशिक्षत गर्न अभिभावकहरुलाई आग्रह गरे ।

विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गरे ।

‘१८ वर्ष पुगेको हरेक मानिस दक्ष जनशक्ति हो’, उनले भने, ‘१८ वर्षपछिकाले बाबुआमाको कमाई खाने होइन, आफैं कमाएर खानुपर्छ ।’

आफू एक कक्षामा भर्ना हुँदा गाउँबाट डेढ घण्टा खाली खुट्टा पैदल हिँडेर स्कुल जाने गरेको स्मरण गर्दै मन्त्री पुनले अहिले टोलटोलमा स्कुल रहेको भन्दै त्यसलाई परिवर्तन र क्रान्तिसँग तुलना गरे ।

गलत शिक्षा नीतिका कारण विद्यालय र क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने थलोका रुपमा रुपान्तरण भएकाले वर्तमान सरकारले शिक्षालाई व्यवहार, सिप, श्रम र दक्षतासँग जोडेर शिक्षा नीति विस्तार गरेको मन्त्री पुनको भनाइ थियो ।

‘सरकारले व्यवहारिक, वैज्ञानिक र जिवनोपयोगी शिक्षामा जोड दिएको छ’, मन्त्री पुनले भने, ‘अब स्कुल र क्याम्पसहरुबाट बेरोजगार होइन, देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ ।’

उनले विद्यालयस्तरमै प्राविधिक धारको शिक्षामा जोड दिइएकाले विगतको जस्तो अवस्था अब नरहने उल्लेख गरे । फरक प्रसंगमा मन्त्री पुनले केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकको समृद्धिलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।