काठमाडौं, १२ फागुन । सूचना–प्रविधि आधुनिकीकरणका लागि सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गतका निकायले खरिद गरेको प्रणालीमा अनियमितता र बदमासी भएको पाइएको छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल जोडिएका सञ्चार मन्त्रालयअन्तर्गतका अधिकतर आइटी प्रणाली र परियोजनामा अनियमितता देखिए पनि मिलेमतोमा ढाकछोप भइरहेको मन्त्रालयका अधिकारीहरूको आरोप छ ।
सुरक्षण मुद्रण केन्द्रले खरिद गर्न लागेको सेक्युरिटी प्रेसमा भ्रष्टाचारमा मुछिएको स्विस कम्पनीका एजेन्टसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना–प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिनुपरेको छ ।
सेक्युरिटी प्रेसमा मात्र होइन सेक्युरिटी प्रेसको नेतृत्व सम्हाल्नुअघि पौडेल कार्यरत रहेको राष्ट्रिय सूचना–प्रविधि केन्द्रले खरिद गरेका ग्रुप–वयेरसहितको इमेल प्रणाली, नेसनल पेमेन्ट गेट–वे, राउटरदेखि आइटी ल्याबसम्म खरिद गर्दा व्यापक अनियमितता भएको आरोप लागेको छ ।
राष्ट्रिय सूचना–प्रविधि केन्द्रले एक वर्षअघि १० करोड तिरेर इमेल सिस्टम खरिद गरेको देखिन्छ। ६ वर्षअघि ४० करोडमा खरिद गरेको ग्रुप–वयेर प्रयोगमा नै नल्याई केन्द्रले अघिल्लो वर्ष फेरि १० करोडको इमेल सिस्टममात्रै खरिद गरेको हो। कमिसनका लागि पुनः त्यही प्रणाली खरिद गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले मन्त्रालयले खरिद गरेको उपकरण प्रयोग नभएको र अनियमितता भएको विषयमा आफूलाई जानकारी नभएको बताए । नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया