मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

थवाङले विकासको स्वाद चाख्न थालेछ : उपराष्ट्रपति पुन

दैनिक नेपाल २०७६ फागुन ११ गते १४:३५

रोल्पा, ११ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन संघीय सरकारका दुई मन्त्रीसहित माओवादी जनयुद्धको आधार रोल्पाको थवाङ पुगेका छन् ।

उपराष्ट्रपति पुनका साथमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त र शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि थवाङ पुगेका छन् । यस्तै नेकपा प्रदेश–५ की अध्यक्ष तथा पूर्वसभामुख ओनसरी घर्ती तथा पूर्वमन्त्री दलजित श्रीपाली पनि टोलीमा छन् ।

उपराष्ट्रपति पुनसहितको टोली थवाङस्थित वीर भलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्ने कार्यक्रममा सहभागी हुन यहाँ आएको हो । टोलीलाई थवाङमा बाजागाजासहित स्वागत गरिएको छ । उपराष्ट्रपति पुनले आफू सात वर्षपछि थवाङ आएको बताए ।

उपराष्ट्रपति भएपछि उनको यो पहिलो थवाङ आगमन हो । उपराष्ट्रपति पुनले थवाङको परम्परागत स्वरुपमा धेरै परिवर्तन आएको अनुभूति गरेको उल्लेख गरे । ‘म आउँदा सडक थिएन’, पुनले भने, ‘अहिले फराकिलो सडक बनिसकेछ । थवाङले विकासको स्वाद चाख्न थालेछ ।’

मन्त्री पुनले वर्तमान सरकारले थवाङको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । अधिकांश भूभागमा सडक सञ्जाल पुगेको बताउँदै उनले गत वर्षदेखि नै सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको उल्लेख गरे ।

पुन उर्जामन्त्री भएपछि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत थवाङलाई लक्षित गरी थवाङ गाउँपालिका–१ स्थित विवाङमा १ सय ५० किलोवाट जडित क्षमताको सोलार प्लन्ट निर्माणको काम जारी छ ।

आगामी जेठमा आयोजनाको निर्माण सम्पन्न हुने लक्ष्य रहेको थवाङ गाउँपालिकाका प्रशासन अधिकृत नर रावतले जानकारी दिए । थवाङ उपराष्ट्रपति पुनका साथै मन्त्री पुन र घर्तीको आश्रय स्थल पनि हो ।

प्रतिक्रिया
सम्बन्धित