
काठमाडौँ, ११ फागुन । टर्की र ग्रीस पठाइदिन्छु भन्दै करिब ४० लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ रतुवामाई नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौँ चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेलले टर्की र ग्रीसमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै प्रलोभनमा पारेर ३२ जनाबाट रकम असुलेका थिए ।
पोखरेलले ३२ जनाबाट ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरी फरार रहेका थिए । गोपि राम पराजुलीले महानगरीय प्रहरी अपराध महाशाखामा पोखरेलविरुद्ध ठगी गरी फरार रहेको जाहेरी दिएका थिए ।
महाशाखाबाट खटिएको प्रहरी टोलीले पोखरेललाई फागुन ८ गते टेकुबाट पक्राउ गरी फागुन ११ गते वैदेशिक रोजगार विभाग बुद्वनगर, काठमाडौँमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाएको छ ।















प्रतिक्रिया