६ कार्तिक २०८३, शुक्रबार

दिनेशलाई अमेरिकी सिनेटरको सम्मान, गिनिज बुकमा पाँचौ पटक नाम लेखाउने अर्को प्रयास पनि सफल

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । गिनिज बुक अफ वर्ल्र्ड रेकर्डमा चार पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकाको न्युयोर्क स्टेटका सिनेटर जोन सी लुईले सम्मान गरेका छन् ।

स्थानीय समयअनुसार शनिबार साँझ सम्मान गरिएको सुनारलाई चार पटक गिनिज बुकमा नाम लेखाएको सफलताका लागि सम्मान गरिएको हो । सुनारले पाँचौ पटकका लागि पनि गरेको प्रयास पनि सफल भएको छ, जसको रेकर्ड गिनिज बुकका लागि पठाइएको छ ।

जीपी फाउन्डेशन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको संयुक्त सहकार्यमा न्युयोर्कमा सुनारले पाँचौ पटक नाम लेखाउनका लागि पार्कर खेलमा नै प्रयास गरेका थिए ।

‘निक्कै खुशी छु । पाँचौ पटकका लागि गरेको प्रयास पनि सफल भएको छ । प्रमाणपत्र आएपछि घोषणा हुनेछ’, सुनारले टेलिफोनमा सुनाए ।

नेपालबाट अमेरिका गट्स ट्यालेन्टमा सहभागी हुनका लागि उनी केही महिनाअघि त्यहाँ पुगेका थिए । ‘गोर्खाली पार्कर गोईङ ग्लोबल’ को अभियान जस्तै गरी सुनारसहितको टोली अमेरिका पुगेको थियो ।

नेपाल सरकारको भिजिट नेपाल २०२० को लक्ष्यलाई विश्वव्यापी बनाउनका लागि सुनारसहित ब्यालेन्स मिडियाका संयोजक मनोज पन्थी अमेरिका गट्स ट्यालेन्टमा प्रतिनिधित्व गर्न पुगेका थिए ।

भ्रमण बर्षको प्रचार गर्दै गएको जनवरीमा भर्जिनियाँमा सुनारले ‘द मस्ट ब्याकवार्डस समरसल्टस अगेन्स्ट अन ट्रयापोलाइन इन वान आवर इन्डिभिज्युअल’मा ४६० पटक गरी विश्व रेकर्ड कायम गरेका थिए ।

२०४८ सालमा खोटाङको राजापानीमा जन्मिएका दिनेश सुनार जिम्न्यास्टिक खेलमा रूची त्यतिबेला राखे जतिबेला उनी गाउँमा गाई बाख्रा चराउन जाँदा बगरमा उल्टि जम्प हान्थे ।उनको त्यो प्रतिभा देखेर सशस्त्र प्रहरीका तत्कालिन प्रमुख सनोत कुमार बस्नेतले उठाएर हलचोक पुराएपछि दिनेश २०६९ सालमा जागिरे भए ।उनी परिवारको मात्र होइन, गाउँ र देशको आशाका केन्द्रको पात्र बनिदिए ।

२०१८ मा नै वर्ल्ड पार्कर एन्ड फ्रि रनिङ फेडेरशनको निम्तोमा उनी अमेरिकाको फ्लोरिडा, वर्ल्ड च्याम्पियनसीपमा सहभागिताको तयारीका लागि पुगेका थिए । विश्वका विभिन्न मुलुकका अब्बल खेलाडीसामु उनले सुखद प्रदर्शन गरे । ८० जनामा उत्कृष्ट ८ मा परे।

उनको कला नेपाली फिल्ममा पनि बिकेको थियो । हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसकेका छन् । उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ ।

पन्थीको साथ

०४५ साल फागुनमा कपिलवस्तुमा जन्मिएर हाल काठमाडौमा स्थायी बसोबास गर्दै आएका मनोज पन्थी सुनारको कलात्मक रेकर्ड गराउने सहयात्री बनेका छन् । पन्थी ब्यालेन्स ग्रुप अफ कम्पनीका संयोजक हुन् ।

सन् २००८ मा रकेट साइन्स इन्जिनियरिङ पढ्नका लागि अमेरिका छिरेका उनी केही बर्ष रकेट साइन्स इन्जिनियरिङ को क्षेत्रमा अमेरिकामै रहेर काम गरे । त्यसपछी आफ्नो दक्षता नेपालमा खर्च गर्नु पर्छ भनी नेपाल फर्किए।

सधैं सकारात्मक धारणामा मात्र जोड दिने उनी नेपाल फर्किएपछि ‘गरे के हुन्न र!’ भन्ने मुल नाराका साथ कम्पनी स्थापना गरी नेपालमा रहेका प्रतिभा तथा प्रतिभावान ब्यक्तिहरुको खोजी अन्तर्राष्ट्रियकरणमा लागे ।