
काठमाडौं, ११ फागुन । ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीपत्नी मुना अधिकारी कार्कीको हत्या तथा कामदार बिजय चौधरीको आत्महत्यालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ ।
पोष्टमार्टम रिपोर्टले दुवैको घाँटी कसिएका कारण मृत्यु भएको रिपोर्ट निकालेको थियो । तर, प्रहरीले कामदार चौधरीले मुनाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक नतिजा निकाल्दै दुवैको मोबाइल प्रहरीको फरेन्सिक ल्याबमा जाँचका लागि पठाएको थियो ।
कतिसम्म भने आत्महत्या गरेका चौधरीको कट्टुमा रगत र विर्य फेला परेको प्रारम्भिक छानबिनमा पत्ता लगाएको प्रहरीले मुनाको मासिक रक्तश्राव चलिरहेको पनि बताएपछि बलात्कारपछि चौधरीले हत्या गरेको भन्नेसम्मका आँकलन गरिएका थिए ।
‘हत्या हुनुपर्ने कारणको पूरा खोजी भइरहेको छ । तत्कालका लागि देखिएका रिपोर्टहरू अचम्मका छन् । फरेन्सिक ल्याबको रिपोर्टले चौधरीले हत्या गर्नुपर्ने खास कारण देखाउन सकेको छैन’, प्रहरी स्रोतले भन्यो ।
यसको अर्थ, मुनाको हत्या अर्को पक्षबाट हुन सक्ने अनुमानलाई अनुसन्धानको बाटो खुलेको छ । प्रहरी भन्छ,‘हत्या तेस्रो पक्षले गरेको भन्ने विषयलाई पनि अनुसन्धानको आधारमा राख्न सकिने अवस्था आयो ।’
सानेपास्थित मुनाकै घरमा २४ वर्षीया चौधरीले नै ४८ वर्षीया मुनाको हत्यापछि आत्महत्या गरेको प्रहरीको दाबी थियो । तर फरेन्सिक रिपोर्टले चौधरी हत्याकै अवस्थामा पुग्नुपर्ने कुनै कारण नभेटिएको हो ।
विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेपछि प्रहरीले रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण थालेको छ ।
२७ माघ बिहान पूर्वसचिव कार्कीले सानेपास्थित आफ्नो घरभित्रै पत्नी मुना र कामदार विजयलाई अचेत अवस्थामा फेला पारेका थिए । भान्सामा रगताम्मे अवस्थामा अचेत भेटिएकी मुनालाई अस्पताल पुराउँदा मृत घोषणा गरिएको थियो । चौधरीको शवमाथि भने चुँडिएको डोरी पनि फेला परेको थियो ।
प्रहरीले पूर्वसचिव कार्कीसँग पनि बयान लिने तयारी गरेको छ । कार्कीसँग मुनासँगको सम्बन्धलगायत घटनाका विवरणका विषयमा प्रष्टसँग बयान लिनेछ ।















प्रतिक्रिया