खोटाङ, ११ फागुन । सामान्यतया सार्वजनिक सुनुवाइ कार्यक्रममा जनचासोका विषयमा जो कोहीले पनि प्रश्न गर्न पाउनुपर्ने हो। जवाफदेही पक्षलाई जिम्मेवार बनाउन सत्ता वा प्रतिपक्ष नभनी जिज्ञासा राखिन्छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाइमा यस्तो देखिएन। सत्तापक्षका नेता, कार्यकर्ता तथा समर्थक प्रश्नै नगर्ने तर प्रतिपक्षका नेता, कार्यकर्ता र समर्थक एकोहोरो प्रश्न गरिरहने भूमिकामा देखिए ।
मेयर, उपमेयरसहित कांग्रेसको बहुमत रहेको नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता चुइँक्क बोलेनन् भने जो जति बोले ती सबै नेकपाका नेता, कार्यकर्ता र समर्थक मात्र थिए।
आर्थिक वर्ष २०७६/०७७ का लागि सञ्चालन रहेका आयोजना तथा कार्यक्रमबारे नगरपालिकाले दुर्छिम मावि प्रांगणमा सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको थियो। प्रांगणमा गोलो घेरामा बसेका सहभागीले मेयर इवन राई, उपमेयर विमला राई, विषयगत शाखा प्रमुखमाथि पालैपालो हात उठाएर प्रश्न गरे।
सहभागीले नगरपालिकाबाट सञ्चालित सडक, कृषि तथा पशु, स्वास्थ्य, शिक्षा, राजस्वलगायत विषयमा केन्द्रित रहेर प्रश्न उठाए। प्रश्न गर्ने सबैजसो नेकपाका नेता तथा कार्यकर्ता वा समर्थक थिए।
उपस्थिति पनि नेकपाकै नेता तथा कार्यकर्ताको बढी देखिन्थ्यो। कांग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति तुलनात्मक रूपमा पातलो थियो। तर कांग्रेस नेता तथा कार्यकर्ता जति उपस्थित थिए उनीहरूले कुनै प्रश्न राखेनन्।
‘आफ्नालाई प्रश्नै गर्नु हुन्न, सकेसम्म अरुलाई मात्र प्रश्न गर्नुपर्छ भन्ने प्रवृत्ति मौलाएको छ,’ स्थानीय एक वुद्धिजीवीले भने, ‘आफ्नोले कमजोरी गरे पनि सही गरेको भन्ने र अरुले सही गरे पनि गलत गरेको भन्ने गरिन्छ। सार्वजनिक सुनुवाइमा पनि त्यही प्रवृत्ति देखिएको हो।’ नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया