काठमाडौं, ९ फागुन । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको कल्याणकारी कोषको करोडौं र विभिन्न ठेक्कामा अर्बौं घोटाला गरेको प्रकरणलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
क्षेत्रीले द्रुत मार्ग निर्माणको ठेक्का, कल्याणकारी कोष, सेनाभित्रका विभिन्न ठेक्कामा अर्बौं घोटाला गरेको सन्दर्भमा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले छानबिनको निर्णय गर्दै सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र लेखेको थियो ।
सोही पत्रका आधारमा क्षेत्रीले मुलुक भित्र र बाहिर थुपारेको सम्पत्तिको विवरण संकलनका लागि विभागले अधिकारीहरू खटाएको छ भने अख्तियारले पनि विभिन्न ठेक्का सम्झौतामा भएका तथ्य संकलन थालेको हो ।

नेपाली सेनाको इतिहासमा सबैभन्दा बढी घोटाला क्षत्रीको पालामा नै भएको भन्दै समितिले उक्त विषयमा अध्ययनका लागि कार्यदल गठन गरेको थियो । नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल र नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूको कार्यदलले क्षत्रीको सम्पत्ति छानबिन गर्नका लागि प्रतिवेदनमा उल्लेख गरेको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी अनुसन्धानका लागि राज्यका सम्बन्धित निकायमा पत्राचार भएको र काम थालेको जानकारी एक सांसदले दिए ।
नेपाली सेनामा हुने गरेको भ्रष्टाचारका विषयमा यसअघिका लेखा समितिमा पनि बारम्बार प्रश्न उठ्ने गरेका थिए । तर, राज्यका संयन्त्रलाई नीतिनियमले कतिपय ठाउँमा बाँधेका कारण सेनाभित्र हुने गरेको भ्रष्टाचारको अभियोगमा अनुसन्धान हुन सकेको थिएन ।
‘अहिले पनि बाहलवाला प्रधानसेनापतिको सम्पत्ति विवरण वा गतिविधि छानबिनका लागि केही सीमा छन् । क्षत्री पूर्वप्रधानसेनापति भइसकेका कारण उनको सम्पत्ति विवरण संकलन गरी उनले गरेका ठेक्का सम्झौताका कागजात जफत गर्न निर्देशन भएको छ’, एक सांसदले भने,‘भ्रष्टाचारविरुद्धको शुन्य सहनशीलता अन्य निकायमा होइन, सेनामा पनि हुनुपर्छ ।’
क्षत्रीकै कार्यकालमा भएका विविध गतिविधिका विषयमा पूर्ण जानकारी दिनका लागि समितिले रक्षा मन्त्रालयमा पनि पत्राचार गरेको थियो । त्यस सन्दर्भमा रक्षाले नेपाली सेनाको जंगी अड्डा, सम्बन्धित सम्भार तथा कार्यविभागबाट फाइल मगाउने काम गरिरहेको बताइएको छ ।
समितिको निर्देशनअनुसार क्षत्रीको सम्पत्ती विवरण खोज्न थालिएको विभाग स्रोतले जनाएको छ ।















प्रतिक्रिया