६ कार्तिक २०८३, शुक्रबार

दोलखामा डा.दंगालको गलत उपचारले पाठकको झण्डै ज्यान गयो

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । दोलखा जिल्लाका एक जना चिकित्सकका कारण ३५ वर्षीया दुर्गा पाठकको झण्डै ज्यान गएको छ ।

माघ २४ गते दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानीमा भएको ट्याक्टर दुर्घटनाकी घाइते पाठकको उचित उपचार नगरिदिँदा झण्डै ज्यान गएको हो ।

दोलखा हेल्थ नेपाल पीएसपीका डा.विनोद दंगालले लापरबाही गरेर उपचार गरेका कारण पाठकले समस्या भोग्नु परेको उनको भाई राजेन्द्रप्रसाद शिवाकोटीले जानकारी दिए ।

डा.दंगाललाई कारबाहीको माग गरेर पीडितका आफन्तले सरोकारवाला निकायलाई दवाव दिएका छन् ।

‘डा.विनोद दंगालले राम्रोसँग उपचार नगरिदिँदा दिदी दुर्गा पाठकको झण्डै ज्यान गयो’, शिवाकोटीले भने, ‘तीन दिन अगाडि काठमाडौंको ट्रमा सेन्टरमा ल्याएर दिदीलाई भर्ना गरेका छौँ । अवस्था गम्भीर छ ।’

दोलखाका डा.दंगालले दुर्घटनामा परेर घाइते भएकी पाठकलाई सामान्य उपचार गरेर घर पठाइ दिएका थिए । डा.दंगालले सात दिनपछि बोलाएका थिए । त्यति मात्रै होइन डा.दंगालले पाठकलाई ठीक भएको भन्दै डिस्चार्ज गरेको भाई शिवाकोटीले बताए ।

घाइते पाठकलाई सात दिनपछि झन् पीडा भएर उठ्नै नसक्ने अवस्थामा पुगेपछि परिवारले ट्रमा सेन्टरमा ल्याएर भर्ना गरेका हुन् । पाठकको घाँटी र तिघ्राको हड्डीमा गम्भीर चोट लाग्नुका साथै भाँच्चिएको शिवाकोटीले बताए ।

ट्रमा सेन्टरका चिकित्सकहरूले शल्यक्रिया भएपछि घाइते पाठकलाई निको हुने आश्वासन दिएको शिवाकोटीले जानकारी दिएका छन् ।

घाइते पाठकका भाई शिवाकोटीले डा.दंगालका कारण भविष्यमा आफूहरूलाई जस्तो समस्या र पीडा अरुलाई नहोस् भनेर माग गरेको बताए । उनले उपचारमा लापरबाही गर्ने डा.दंगाललाई कारबाही गर्न सरोकारवाला निकायसँग माग पनि गरेका छन् ।

डा.दंगालले घाइते पाठकको एक्सरे गरेर हेर्दा शुरुमा समस्या नदेखिएको बताए । ‘म मात्रै होइन हाम्रो टिम थियो । शुरुमा केही देखिएन एक्सरे गरे हेरेका थियौँ । शुरुमा ठूलो समस्या देखिएन’, उनले भने, ‘चार दिन राखेर उपचार गरेका थियौँ । त्यसपछि डिस्चार्ज गरिएको हो । केही समस्या भएपछि आउनु होला भनेर पठाएका थियौँ ।’

डा.दंगालले उपचारमा लापरबाही नभएको बताए । उनले भने, ‘हामी ज्यान उपचार गर्न बसेको हो । उपचारमा लापरबाही गर्ने कुरा हुँदैन ।’