४ कार्तिक २०८३, बुधबार

मुहार हेर्न अभिभावक आतुर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । ‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा. मोहन खतिवडाले ओढिरहेको सिरक फाले। घरमा ओच्छयानमै रहेका डा. खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार बिहान ४ बजेर २५ मिनेटमा फोनमा कुराकानी भएको हो। उनले कोरोना भाइरस (कोभिड–१९) को सामना गरेर स्वदेश फर्किएकी छोरीको सुस्वास्थ्यको कामना गरे।

मीमांशाले चीनको वुहानबाट उद्धार, त्यसपछि नेपाल आउँदाको क्षणबारे संक्षेपमा सुनाइन्। डा. खतिवडाले पनि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा बस्ने बन्दोबस्त भएको सुनाए। यसका लागि डा. खतिवडाले सरकार र सञ्चारमाध्यमलाई धन्यवाद दिए। ‘कोरोना भाइरस संक्रमणको डरबाट मुक्त भयौं। ढुक्कजस्तै भइयो’, उनले साँझ अन्नपूर्णसँग भने, ‘तर, चिसो ठाउँमा क्वारेन्टाइन रहेकाले मौसमी फ्लुको डर लागिरहेको छ।’

चीनको हुपै प्रान्तको वुहान सहरबाट नेपालीको उद्धारपछि उनीहरूका अभिभावक खुसी छन्। भाइरस संक्रमणको त्रासबीच उद्धारका लागि सरकारसँग हारगुहार गरेका उनीहरू सन्तानको मुहार हेर्न आतुर देखिएका छन्। १४ दिनसम्म बस्ने क्वारेन्टाइनमा कुनै संक्रमण नहोस् भनेर उनीहरूले कामना गरिरहेका छन्।

राष्ट्रिय ध्वजावाहक विमानमार्फत स्वदेश आएका १ सय ७५ मध्ये अधिकांश विद्यार्थी छन्। सामान्य ज्वरो आएर उतै छुटेका नेपालीप्रति मीमांशाले चिन्ता व्यक्त गरेको डा. खतिवडाले बताए।

चीनमा एमबीबीएस अध्ययनरत भतिज अनिल यादवको उद्धारमा ढिलाइ नहोस् भनेर हारगुहार गर्ने क्रममा मीना यादव सञ्चारकर्मीसामु रोएकी थिइन्। स्वदेश फर्किएका भतिजसँग कुराकानी गरेको उनले सुनाइन्। ‘तपाईंहरूले मेरो रुवाइलाई हाइलाइट गर्नुभयो। मिडिया र मानवअधिकार आयोग धन्यवादका पात्र हुन्’, उनले भनिन्, ‘ढिलो भए पनि सरकारले उद्धार गर्‍यो।’ भतिज यादवसँग आइतबार दुईपटक फोनमा कुराकानी भएने उनले सुनाइन्। क्वारेन्टाइनमा नास्ता र खानासमेत खाएको उनले बताइन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।