१ कार्तिक २०८३, आइतबार

कोरोनाका कारण एकै दिन २४२ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, १ फागुन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ नाम दिएको नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढेको छ।

नोवेल कोरोना संक्रमणको इपिसेन्टरका रुपमा रहेको चीनको हुबेइ प्रान्तमा भाइरसका कारण एकै दिन ज्यान गुमाउनेको संख्या नयाँ उचाईमा पुगेको छ ।

चिनियाँ अधिकारीका अनुसार हुबेइमा नोवेल कोरोनाका कारण बुधबार मात्रै २४२ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाका कारण यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि हुबेइ प्रान्तमा नोवेल कोरोनाका कारण मृत्यु हुनेको संख्या गएको सोमबार एकै दिन १०३ ले बढेको हो । आइतबार एकैदिन ९७ जनाको ज्यान गएको थियो।

नोवेल कोरोना संक्रमण पनि ठूलो संख्यामा बढेको छ । बुधबार एकै दिन १४ हजार ८४० जना भन्दामा संक्रमण पुष्टि भएर उपचार सुरु गरिएको हुबेइका अधिकारीले उल्लेख गरेका छन् ।

यसअघि चीनको राष्ट्रिय स्वाथ्य संगठनले गएको मंगलबार नयाँ संक्रमणको दर पछिल्लो दुई हप्ता यताकै कम रहेको बताएको थियो। मंगलबार दुई हजार १५ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो ।

तर बुधबार हुबेइमा भएको थप मृत्यु र संक्रमणले अवस्था भयावह भएको देखिएको हो । कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १३ सय ५० नाघेको छ । यस्तै झण्डै ६० हजारजनामा संक्रमण पुष्टि भएको छ ।

यसैबिच डब्लुएचओले नोवेल कोरोना भाइरसको महामारी अन्त्यका बारेमा अहिले नै बोल्न उपयुक्त नहुने बताएको छ । चीन बाहिर ४४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।