आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईजी नियुक्तिमा आएका तीनथरी संशय

आकस्मिक रूपमा ३० बर्षे अवधि नहटाउँदा डिआईजी ज्ञवाली पक्का आगामी प्रहरी प्रमुख

दैनिक नेपाल २०७६ माघ २८ गते १३:४९

काठमाडौं, २८ माघ । नेपाल प्रहरीको २७ औं प्रमुख (आईजी)को निर्णय सोमबार हुन नसक्दा विविध कोणका चर्चा हुन थालेका छन् । केही समयपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि यस्ता संशय हट्नेछन् ।

६ महिना थप्ने, ३० बर्षे हटाउने वा यहि प्रक्रियामा डिआईजीबाट नै आईजी बनाउने भन्ने विषयमा संशय रहेको छ ।

सरकारले हालसम्म गरेका निर्णयका नजिरलाई आधार मान्ने हो भने आगामी आईजीका लागि ज्येष्ठता, कार्य सम्पादन मुल्यांकनका हिसाबले डिआईजी ठाकुर ज्ञवाली आगामी संगठन प्रमुखका लागि पक्का हुन् ।

तर सोमबार नै हुनुपर्ने निर्णय मंगलबार पनि अवेरमात्र गर्ने सरकारको तयारीले केही संशयमा जोडबल पुगेको छ । ४ बजे आईजी सर्वेन्द्र खनालका विदाईको कार्यक्रम तय भएको केही समयअघि मात्र राखिएको मन्त्रिपरिषद्को बैठकमा हालका आईजीकै ६ महिना अवधि थपी वैकल्पिकलाई नदिने कि, थप्दा हालका आईजीलाई प्रधानमन्त्री कार्यालयको सुरक्षा सल्लाहकारमा तानेर ब्याची रहेका एआईजी मध्येका ज्येष्ठ पुष्कर कार्कीलाई दिने भन्ने विषयमा पनि चर्चा भएको थियो ।

गृह मन्त्रालय सम्बद्ध स्रोतका अनुसार आगामी आईजीका लागि ज्ञवालीको नाम प्रस्तावित भइसकेको छ । त्यसैले अर्को निर्णय हुनेमा आशंका छैन । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीको मुडमा नै आगामी आईजीमा हालकै निरन्तरता गर्ने, एआईजीलाई जिम्मा दिने कि डिआईजीबाट बनाउने भन्ने तीनैखाले सम्भावना अडिएको बताइन्छ ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्ष रहने भएकाले उनको प्रस्तावित विषय नै निर्णय हुने व्यवस्था छ ।

६ महिना थप्ने भन्ने विषय नहुन सक्छ । आईजी विदाईको तयारीमा छन् । यो नियमित प्रक्रिया निर्णय हुन नसके पनि निमित्तको जिम्मेवारीमा रहेकालाई छाडेर जानेछन्, प्रहरी स्रोतले भन्यो,‘सरकारले ३० बर्षे सेवा हद आकस्मिक रुपमा हटाएको खण्डमाचाहिँ आईजीले छाड्नुपर्ने हुँदैन । उनको निरन्तरता हुनसक्छ ।

सरकारले यो निर्णय लिनेमा निक्कै कमैमात्र विश्वस्त छन् । ३० बर्षे सेवाअवधि हट्दा राजनीतिक लविङका आधारमा बाहलवाला एआईजीहरूको पनि संगठन प्रमुख बन्ने अस्वस्थ्य स्पर्धा हुन सक्ने भएकाले सरकारले अहिले नै विवादमा आउने निर्णय लिनेछैन ।

प्रतिक्रिया
सम्बन्धित