४ कार्तिक २०८३, बुधबार

जीएमआरलाई आशयपत्र, नेपालको बिजुली बंगलादेश निर्यात गर्ने बाटो खुला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादित विद्युत् बंगलादेश निकासी गर्न आशयपत्र पाएको छ। योसँगै नेपालको बिजुली भारत हुँदै बंगलादेशको बजारमा बिक्री गर्न (त्रिदेशीय विद्युत् व्यापार)को बाटो खुलेको छ।

आशयपत्र दिने बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग छिट्टै विद्युत् खरिद सम्झौता (पीपीए)को टुंगो लगाउन गृहकार्य भइरहेको जीएमआरले जनाएको छ। उसले वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) अघि बढाउन सकिने उल्लेख गरेको छ।

जीएमआरले अब ५० लाख अमेरिकी डलरको वित्तीय स्रोत बैंकहरूमार्फत जुटाउन पहल गरिरहेको आयोजना प्रमुख केके शर्माले बताए। उनका अनुसार बंगलादेशको कानुन मन्त्रालय र बंगलादेश बैंक (केन्द्रीय बैंक) को स्वीकृतिपछि फेरि १ करोड ५० लाख डलरको बैंक ग्यारेन्टी प्राप्त हुनेछ। जीएमआरले बोर्डलाई बैंक ग्यारेन्टीसहित विद्युत् आपूर्तिको प्रतिबद्धता गर्नेछ।

बंगलादेशको मन्त्रिपरिषद्ले नेपालमा उत्पादन हुने, भारतीय कम्पनी जीएमआरद्वारा प्रवद्र्धित माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली खरिद गर्न बोर्डलाई अनुमति दिइसकेको छ। सोही आधारमा बोर्डले आशयपत्र जारी गरेको हो। यसबाट ९०० मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादन हुने विद्युत्मध्ये अधिकांश हिस्सा बंगलादेशमा निर्यात हुने गरी बजार सुरक्षित भएको छ।

बोर्डले भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)मार्पmत बिजुली आयात गर्नेछ। आगामी तीन महिनाभित्र पीपीएमा हस्ताक्षर हुने अपेक्षा जीएमआरको छ। परियोजना विकास सम्झौतामा उल्लेख भएअनुसार नेपाल सरकारको सहयोगमा जग्गा अधिग्रहण, ‘राइट अफ वे क्लियरेन्स’लगायत विभिन्न प्रक्रिया पूरा भएपछि बोर्डसँग पीपीएमा हस्ताक्षर हुने बताइएको छ।

पीपीएपछि जीएमआरले एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी आयोजना निर्माण सुरु गर्नेछ। उसले सन् २००८ मा प्रतिस्पर्धाबाट लाइसेन्स लिएको थियो। यसको आयोजना विकास सम्झौता (पीडीए) सन् २०१४ मा भएको थियो।

बंगलादेशले २५ वर्षसम्म करिब ३८ हजार १६० करोड टाका अर्थात् ५ खर्ब रुपैयाँबराबरको विद्युत् खरिद गर्ने योजना छ। यसका लागि पीपीएबापत प्रतियुनिट ७.७१७२ सेन्ट खरिददर तोकिएको छ। यसमा तल–माथि भने हुन सक्नेछ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।