
काठमाडौं, २५ माघ । प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको दुई महिना अर्थात् ६० दिन कट्यो ।
यस अवधिमा डिआईजी पोखरेल आफैं उपस्थित भएर प्रहरीका तल्लास्तरका कर्मचारीको राशनमा समानतामात्र गरेका छैनन्, काम कसरी भइरहेको छ भन्ने विषयमा पनि मिहिनताका साथ निर्देशन गरिरहेका छन् ।
उनको मातहतमा पर्ने उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लामा रहेका हरेक प्रहरी निकायका प्रमुख पनि उनकै लयमा सक्रिय हुन थालेका छन् ।
एक प्रहरी अधिकारी भन्छन्,‘डिआईजी पोखरेल आएपछि कुन बेला बैठक डाक्नुहुन्छ र कस्तो निर्देशन दिनुहुन्छ भन्ने पत्तो पाउन मुस्किल छ । तर प्रहरीको व्यावसायीक काममा कुनै कमजोरी नहोस् भन्ने निर्देशन छ ।’
उनी आफैं फिल्डमा सक्रिय हुन्छन् । मध्य रातमा पनि उनको सक्रियता प्रहरी कर्मका दृष्टिले निर्भिक देखिएको छ । गत १५ पुसमा सुन पगाली ल्याउने भारतीय नागरिक हुन् या २६ पुसमा गाडीमा हतियार लिएर बस्ने शंकास्पद व्यक्ति सबैलाई कानुनी दायरामा उभ्याउन पोखरेलको निर्देशन प्रभावकारी बन्यो ।
‘प्रहरीको काम भनेको जनताको सुरक्षा प्रमुख, अपराध नियन्त्रण गरी कानुनी कारबाहीमा ल्याउने हो । यो पेशा रोज्नेले कुनै सुविधाको खोजी होइन, कर्तव्यमा ध्यान दिनुपर्छ’, डिआईजी पोखरेल भन्छन्,‘सबै प्रहरी कर्मचारीलाई यो राम्रो ज्ञान छ । मैले झकझक्याउँदै उनीहरूको सीपको प्रयोग राम्रो बनाउनुपर्छ भन्ने उत्प्रेरणा दिएको हुँ ।’
प्रहरी कर्मचारीलाई नागरिकसँग गर्ने व्यवाहारमा शालिनता प्रस्तुती गर्न सुझाव दिएका उनले कुनै पनि प्रकारका नियमविपरितका कामचाहिँ हुन नदिन निर्देशन दिएका थिए । यसको पछिल्लो उदाहरण गायिका आस्था राउत र प्रहरी महिलाको विमानस्थलमा भएको विवाद थियो ।
गायिका राउतले प्रहरी महिलासँगको प्रकरणमा सबै प्रहरीले हिनता बोध हुनेगरी सामाजिक सञ्जालमा बयान दिएकी थिइन् । यो विवाद चलिरहेका बेला उनी विमानस्थल पुगेर प्रहरी कर्मचारीलाई पोखरेलले भने,‘नागरिकमैत्री व्यवाहारमा कुनै पनि ह्रास नआओस् तर कसैले कर्तव्यपरक हुँदाहुँदै पनि अटेर गरेमा कानुनअनुसार चल्नू ।’
प्रहरी कार्यालयमा पुगेपछि गायिका राउत युटर्न भइन् । उनले प्रहरीको व्यवाहार राम्रो रहेको र आफूले नबुझेको स्वीकार गरिन् ।
‘राष्ट्रको सेवा गर्नका लागि नै प्रहरीमा जागिरे हुने मनोकांक्षा लिएर छिरेका जुनसुकै ओहदाका कर्मचारीको गरिमा कायम रहनुपर्छ र व्यवाहार पनि राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता छ’, पोखरेल भन्छन्,‘तर प्रहरी मात्रै ठिक छ भन्ने पनि होइन । कसै कसैको व्यवाहारले मानिस आजित पनि बनेको हुनसक्छ ।’
खासगरी सादा पोशाकमा रहेका प्रहरीले सूचना संकलनको काम भन्दा बढी अन्य गतिविधिमा पनि ध्यान दिन थालेको हुनसक्ने भएपछि पोखरेलले आफ्नै कार्यालयमा पनि ठूलो परिवर्तन गरे । २ सय ४० जनाको संख्यामा परिचालित सादा पोशाकका प्रहरीको संख्या ह्वात्तै घटाएर सीमित संख्यामा राखे ।
यसमा पनि उनको तर्क छ,‘बाहिरबाट आउने गुनासोलाई पनि सम्बोधन गर्नुपर्छ । हामीले विश्वास, आदर्श र प्रहरी मेरो साथी भन्ने विषयलाई केन्द्रमा राखेर नै नागरिकको सेवासुविधाका लागि खट्नुपर्छ । राज्यको नीतिअनुसार चल्नुपर्छ ।’
सरकारले सडकमानव मुक्त काठमाडौंको घोषणा कार्यान्वयनका लागि डिआईजी पोखरेल आफैं सडकसम्म खटिए । सडकमा रहेका मानिसलाई उठाएर सुरक्षित ठाउँमा लैजाने क्रममा उनीमाथि नै धम्की र आक्रमणको प्रयास पनि भयो । तर, सरकारको नीतिलाई प्रहरीले कार्यान्वयनमा ल्याउनुपर्ने भएकाले त्यो काम फत्ते गर्न उनले कुनै कसर बाँकी राखेनन् । ‘एकाध कोही सडकमा देखिन सक्लान् तर बाक्लो संख्यामा रहेका त्यस्ता बेसाहारा भने अहिले देखिँदैनन्’, उनी सुनाउँछन् ।
अपराध अनुसन्धानदेखि जिम्मेवारीमा रहेका काविल अफिसरको साथ भएकैले आफ्नो नेतृत्व सबल बाटोतिर लम्किएको उनी नकार्दैनन् । मातहतका कार्यालयमा दक्ष, इमान्दार र जुझारु अफिसर रहेका कारणले नै महानगरीय प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालयको पनि साख बढेको उनी ठान्छन् । ‘त्यसैले प्रहरीलाई चेन अफ कमान्डको संगठन भनिएको हो । हरेकका जिम्मेवारी, कर्तव्यका जस हरेक निकायले लिनेगरी काम भइरहेको छ’, पोखरेल भन्छन्,‘कहिँ कतै कमजोरी हुन हुन्न, रहेछ भन्ने उपल्लो तहबाट नै त्यसको निरिक्षण भइरहेको हुन्छ ।’















प्रतिक्रिया