४ कार्तिक २०८३, बुधबार

चीनका नेपालीलाई तुरुन्त ल्याउन प्रधानमन्त्रीको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन्।

बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वदेश ल्याउन निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए।

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, मुख्यसचिव र सम्बद्ध मन्त्रालयका सचिव एवं सुरक्षा अधिकारी सहभागी थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए।

परराष्ट्रसचिव शंकर बैरागीले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। चीनबाट उद्धार गरी ल्याइने विद्यार्थी राख्न शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनस्थल बनाइएको छ।

चीनबाट स्वदेश फर्कन १ सय ८० विद्यार्थीले फाराम भरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।