१ कार्तिक २०८३, आइतबार

मन्त्रीले दिए बजेटको काम थाल्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan-Mahatकाठमाडौ, २२ फागुन । अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७२/७३ को बजेट आउदो वैशाख भित्रै पेश गर्नेगरी काम अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सार्वजनिक बिदा परेको दिन विहीवार अर्थ मन्त्रालयका कर्मचारीलाई बोलाएर तयारीका काममा तिव्रता दिन उनले निर्देशन दिएका हुन् ।

उनले हाल सुरु भएका विकास निर्माण र पूर्वाधारका कामलाई पुरा गर्दै जाने सोचका साथ आगामी बजेट बनाउन भनेका छन् ।

‘शीघ्र बजेट भनेर जहिले पनि भन्ने तर प्रस्तुत गर्ने समय असारमा नै पुग्ने गरेको र विकास निर्माणका कामको खर्च हुन नसकिरहेको अवस्था छ’ उनले भने, ‘अहिले फेरि मन्त्रालयको तर्फबाट हामीले वैशाखभित्रै बजेट प्रस्तुत गर्ने तयारी अवस्थामा रहनुपर्छ । हाम्रो प्रयास शीघ्र बजेट प्रस्तुत गर्नेमा हुनुपर्छ ।’

उनले बजेट निर्माणमा कार्यसूची बनाएर तयारीका काम अघि बढाउन भनेका छन् ।

अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि भनिएको छ ।

जथाभावी कार्यक्रम समावेश नगर्न र संभाब्यता अध्ययन भैसकेका साथै कार्यान्वयनमा आउन योग्य कार्यक्रम अगाडि बढाउनुपर्ने उनले बताए । ‘टुक्रे कार्यक्रमलाई बजेटमा धेरै ठाउ नदिनुहोस’ उनले भने ।

काठमाडौ र तराई जोड्ने द्रुतमार्गको सम्झौता अगाडि बढाउनुपर्ने र सफलता नमिले सरकार आफैले काम गर्नुपर्ने उनले बताएको विज्ञप्तीमा भनिएको कान्तिपुर दैनिकले छापेको छ ।

छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, मन्त्रालय अन्तर्गतका सबै महाशाखाका प्रमुखहरुको सहभागिता रहेको जनाइएको छ ।