१ कार्तिक २०८३, आइतबार

घैँटाको दूषित पानी पिउँदै बाँफीवासी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

डोटी, २३ माघ । दिपायल सिलगढी नगरपालिका वडा नं १ बाँफी गाउँका स्थानीय वर्षांैदेखि आकाशेपानी (घैँटाका पानी) पिउन बाध्य भएका छन् ।

उक्त गाउँका २०० घरपरिवारले साउद जाति वर्षाैँदेखि घैँटोमा सङ्कलन गरिएको दूषित पानीको प्रयोग गर्दै आएका छन् । गाउँ नजिक पानीको मुहान नभएकाले स्थानीय आकाशबाट आएको पानी घैँटोमा सङ्कलन गरेर महिनाँैसम्म पानीको जोहो गर्न सो क्षेत्रका मानिस बाध्य छन् ।

पानीसँगै मिसिएर आउने पहेँलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखापर्ने गरेको स्थानीयवासी उमेशबहादुर साउदले बताउनुभयो ।

पानीकै कारण लाग्ने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा विभिन्न स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आए पनि लामो समयसम्म छालालगायत अन्य शरीरसम्बन्धी रोग निको नहुने गरेको उनीहरु बताउँछन् ।

घैँटामा सङ्कलन गरिएको आकाशे पानी यहाँका स्थानीयले कम्तीमा सात महिना प्रयोग गर्ने गरेको अर्का स्थानीय देवबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ नजिक पानी छैन, आकाशको पानी जम्मा गरेर हामी प्रयोग गर्छौं ।”

महिनौँसम्म जम्मा गरेको उक्त पानीमा पहेलो निस्कने पदार्थ आइरन वा आर्से्निक हुनसक्ने अनुमान छ । पिउने पानीको अर्को विकल्प नहुँदा स्थानीय बासिन्दाले बाध्यताले सोही पानीको प्रयोग गर्दै आएको स्थानीय कैलाश साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “कपडा धुने गर्दा पूरै लुगा पहेँलो हुने र भाँडाकुँडामा कालो दाग लाग्छ ।”

खानेपानी आयोजना निर्माण गर्न सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दा कसैले सुनुवाइ नगरेको स्थानीयको आरोप छ । वर्षाैँ पहिले एक गैरसरकारी संस्थाले बनाएको आकाशे पानी जम्मा हुने ट्याङ्कीमा सात महिनालाई पानी जम्मा गरिन्छ ।

सुक्खायाम लागेसँगै पानीका मुहान सुक्न थालेपछि उनीहरु त्यही जम्मा भएको फोहर पानी खाने पिउने गर्दछन् ।

उहाँले भन्नुभयो, “चुनावको समयमा भोट माग्न सबै नेताले पानीको समस्या समाधान गर्छौं भन्छन् चुनाव जितेपछि फर्केर आउँदैनन्, हाम्रा दुःख जस्ताको तस्तै छन् ।” घैँटामा जम्मा भएको पानीमा नुहाउनसमेत स्थानीयले पालो कुर्नुपर्ने स्थानीय पशुपति साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्कलित गरिएको पानीमा सागपातका लागि सिँचाइ गर्न त परै जाओस् शौचालय पानी लैजान र नुहाउन पालो कुर्नुपर्ने हुन्छ ।” पर्याप्तमात्रामा पानी नहुँदा हप्ता दिनमा कम्तीमा एक जनाको एकपटक नुहाउने पालो आउने गरेको उनीहरुको भनाइ थियो ।

पानीकै समस्याले कतिपय स्थानीयले गाउँबाट निकै टाढाको सेती नदी किनारामा बसाइँ नै सार्ने गरेको स्थानीयवासी बताउँछन् । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बाँफी गाउँका स्थानीयको पानीको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँफी गाउँमा पानीको निकै समस्या छ, पानीकै कारण स्थानीय बिरामी हुँदै आएको जानकारी छ, पानीको समस्या समाधानलाई नगरपालिकाले विशेष पहल गरिरहेको छ ।”

पानीका लागि नगरपालिकाले पानीको स्रोतको खोजी गरी समस्या समाधानतर्फ लागिपरेको नगर प्रमुख मलासीले जानकारी दिनुभयो । –रासस