काठमाडौं, २२ माघ । लग्जेम्बर्गका विदेशमन्त्री एवं युरोपेली मुलुकका डिन जिन एसलवर्नको नेपाल भ्रमण लग्जेम्बर्गका सञ्चारमाध्यममा ठूला समाचार बन्यो। नेपालमा सुरु भएको ‘भ्रमण वर्र्ष’ बारे गत वर्ष युरोपभर सञ्चालित दर्जनौं अभियानभन्दा एसलवर्नको भ्रमणमा बढी महत्त्व पायो।
यही कारणले होला नेपालबाट उच्च तहको भ्रमण मित्र मुलुकमा गर्नु भन्दा ती मुलुकबाट नेपालतर्फ भ्रमण गराउँदा प्रभावकारी हुने सुझाव केही नेपाली राजदूतले दिएका छन्।
नेपालबाट राष्ट्र एवं सरकार प्रमुखको राजकीय वा औपचारिक भ्रमण केही प्रभावकारी भए पनि अन्य तहमा हुने भ्रमणको प्रभाव न्यून हुने गरेको सुझाव राजदूतहरूको छ। यहाँबाट माथिल्लो स्तरको भ्रमण हुँदा पनि विदेशी मिडियामा भने हल्लाखल्ला हुँदैन।
नेपालबाट ती मुलुकमा हुने उच्चस्तरीय भ्रमणको सञ्चारमाध्यममा हुने ‘कभरेज’ लाई मानक बनाउँदा उनीहरूका उच्च अधिकारी आउँदा प्रभावकारी रहने ठहर परराष्ट्र अधिकारीहरूको छ।
पछिल्लो समय युरोपेली मुलुकका राजनीतिज्ञहरूले नेपाल भ्रमणमा जोड दिइरहेका छन्। जर्मनीकी फस्ट लेडी इलेक बुडेनबेन्डर शनिबार काठमाडौं आउँदै छिन्। उनी युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन्। राष्ट्रपति पत्नी एवम् पूर्वन्यायाधीशसमेत रहेकी इलेक साताव्यापी भ्रमणमा रहँदा पूर्वी र पश्चिम नेपालका विभिन्न सहरमा जाने कार्यक्रम छ। यस्तै उनले दुई दिन जनकपुरमा बिताउनेछिन्। जर्मन सञ्चारमाध्यममा उनको नेपाल भ्रमणबारे समाचार आउन थालिसकेको छ।
उनी आउनु दुई दिनअघि युरोपेली मुलुक लग्जेम्बर्गका विदेशमन्त्री एसलवर्नले साझा हितका लागि नेपालसँग सहकार्य गर्न आफू तयार रहेको बताएर फर्केका छन्। उनको नेपाल भ्रमणबारे त्यहाँका सञ्चारमाध्यममा दुई दिनमा १७ समाचार प्रकाशित भएको ब्रसेल्सस्थित नेपाली दूतावासका अधिकारीले बताए। उनी लग्जेम्बर्गका उपप्रधानमन्त्रीसमेत भइसकेका राजनीतिज्ञ हुन्।
उनले नेपाली अधिकारीहरूको भेटमा नेपाल राजनीतिक स्थायित्व कायम गर्दै विकास प्रक्रियामा अघि बढेकोमा खुसी व्यक्त गरेका थिए। नेपालको विकासमा आफ्नो मुलुक र युरोपेली महासंघमार्फत सहयोग निरन्तर रहने प्रतिबद्धता पनि उनले गरे। दुई देशका अधिकारीबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलगायतको सहयोगबारे छलफल भएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया