४ कार्तिक २०८३, बुधबार

अतिरिक्त शुल्क समायोजन गर्न मेडिकल कलेजहरू सहमत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले यसअघि लिएको अतिरिक्त शुल्क समायोजन गर्ने भएका छन् । सूचना प्रकाशित गरी अतिरिक्त शुल्क माग गर्दै आएका ती कलेजले विद्यार्थीको चर्काे दबाबपछि क्रमिक रूपमा शुल्कलाई समायोजन गर्ने भएका हुन् ।

विद्यार्थी, अभिभावक र विश्वविद्यालयको दबाबपछि यसअघि लिइएको अतिरिक्त शुल्क समायोजन गर्न सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र जोरपाटीस्थित नेपाल मेडिकल कलेज तयार भएका हुन् ।

२ करोड ४० लाख रुपैयाँ अतिरिक्त शुल्क समायोजन गर्न तयार देखिएको काठमाडौं मेडिकल कलेजले एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीसँग अतिरिक्त शुल्क भन्दै ४ लाख ३५ हजार रुपैयाँ लिने भन्दै सूचना प्रकाशित गरेको थियो ।

त्यस्तै, मेडिकल कलेजविरुद्ध उजुरी पर्ने क्रम अझै रोकिएको छैन । मेडिकल कलेजविरुद्ध अभिभावक र विद्यार्थीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

विद्यार्थीका अनुसार नेपालगन्ज मेडिकल कलेज, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको छ । उजुरीपत्रमा अवैध रूपमा शुल्क असुलिएको भन्दै तत्काल फिर्ता गर्न माग गरिएको छ । ती जिल्ला प्रशासनले भने राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई पत्र काट्दै सम्बन्धित कलेजलाई कारबाहीको सिफारिस गर्न भनेका छन् ।

यस्तै, विराटनगरस्थित नोबेल मेडिकल कलेजले २९ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क मागेको भन्दै जिल्ला प्रशासनमा उजुरी दर्ता भएको छ । नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनले पत्र काट्दै भनेको छ, ‘चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क कुन ऐनबमोजिम लिइएको हो, २४ घण्टाभित्र कार्यालय आइपुग्ने गरी जवाफ पेस गर्नू ।’
नेपालगन्ज मेडिकल कलेजले ६ लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका हुन् । यस्तै, अभिभावकबाट विराट मेडिकल कलेजले ४ लाखसम्म अतिरिक्त शुल्क लिएको गुनासो आएको छ ।

ती कलेजले इन्टर्नसिप, सेक्युरेटी डिपोजिट, केयू रजिस्ट्रेसन, काउन्सिल रजिस्ट्रेसनबापत मनपरी शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।