मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

गृह मन्त्रालय जान सचिवहरूको ‘हानथाप’

दैनिक नेपाल २०७६ माघ २० गते ७:४०

काठमाडौं, २० माघ । ‘रेग्मीजी, गृह मन्त्रालय ‘सेमी–मिनिस्ट्री’ रहेछ, तपाईं इमानदार प्रशासक हुँदाहुँदै पनि हाम्रो केमेस्ट्री मिलेन, त्यही भएर गृहबाट तपाईंलाई स्वास्थ्यमा सरुवा गरेको छु, चित्त नदुखाउनु होला है ।’

२०५३ चैत २ गते गृहमन्त्री वामदेव गौतमले गृहसचिव खेमराज रेग्मीलाई कार्यकक्षमा बोलाएर भनेका थिए, ‘स्वास्थ्यमन्त्री राधाकृष्ण मैनाली इमानदार हुनुहुन्छ, उहासँग तपाईंको काम गर्ने शैली पनि मिल्छ ।’ कार्यकक्षमा बोलाएर सरुवाको संकेत दिएको केही दिनभित्रै गौतमले उनलाई स्वास्थ्यमा सरुवा गरेर स्वास्थ्यका रेवतीरमण पोखरेललाई गृहमा ताने ।

राप्रपाका लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए पनि सत्ता सञ्चालनमा गौतम सर्वेसर्वा थिए । स्वास्थ्यमा सरुवा गरिएको केही दिनपछि गृहमन्त्री गौतमले भेटमा रेग्मीलाई भनेछन्, ‘तपाईं स्टेट फरवार्ड प्रशासक हुँदाहुँदै पनि मैले ‘एस–म्यान’ बनाउन नसक्ने देखेर नै रेवतीजीलाई ल्याएको हुँ तर तपाईंको काम गर्ने शैलीबाट म प्रभावित छु ।’

२२ वर्षअघि आफू अनुकूलको काम नगरेपछि गृहमन्त्री गौतमले स्पष्ट कारण नै खुलाएर गरेकोआफ्नो सरुवाबारे रेग्मीले आइतबार कान्तिपुरसँग भने, ‘खासमा मेरो सरुवा एकजना आरोपितलाई नछोडेका कारण भएको थियो, झक्कुप्रसाद सुवेदीजी पक्राउ पर्नुभएको थियो, अदालतले एक लाख धरौटीमा छाड्न आदेश दिए पनि रकम नबुझाएकाले मैले छाड्न नमानेपछि मेरो सरुवा भएको थियो ।’

२०६५ भदौ २४ देखि २०६८ जेठ २ गते गृहसचिव रहेका गोविन्द कुसुमसँग पनि तत्कालीन माओवादी, एमाले र कांग्रेसको दबाबमा काम गरेका थुप्रै उदाहरण छन् । राणा शासन अन्त्यपछि बनेको सरकारका गृहमन्त्री बीपी कोइरालाले २००७ सालमा आफू अनुकुलका गुञ्जमान सिंहलाई गृहसचिव बनाए। त्यसपछि पञ्चायत र बहुदलकाल हुँदै गणतन्त्रसम्म आइपुग्दा गृहसचिवमा आफूअनुकूललाई ल्याउने गलत प्रवृत्ति निरन्तर छ ।राजनीतिक परिवर्तनसँगै केहीलाई अपवाद ठान्ने हो भने पार्टीप्रति बफादार सचिवहरूले नै गृहमा मौका पाए ।

‘माओवादीले सिंहदरबार घेराउ गर्दा वा नियमित शान्तिसुरक्षा कायमदेखि अपराध अनुसन्धान तथा नियन्त्रणसम्म होस्, दबाब र अस्वाभाविक सिफारिसका निकै प्रस्ताव झेल्नुपर्‍यो । तर एस–म्यान होइन, डु–म्यान भएरै काम गरे । जानेर वा नियतवश गलत काम नगरी अवकाश पाएँ, त्यसैमा खुसी छु,’ पूर्वसचिव कुसुमले भने ।

गृह मन्त्रालयको सचिव हुँदा गैरकानुनी दबाब झेल्नु परेका दुई पूर्वसचिवका अनुभवले पनि गृह प्रशासनलाई शक्तिकेन्द्रले कसरी आफ्नो पकडमा राख्न चाहन्छन् र स्वार्स्थ पूरा नभए आफ्नो अनुकूलका ल्याउँछन् भन्ने यी दुई तथ्य हुन् । पूर्वगृहसचिव रेग्मी र कुसुम गृहमा आउने प्रशासक जोसुकैले पनि गैरकानुनी दबाब र भनसुनलाई अस्वीकार गर्नुपर्ने बताउँछन् ।

प्रेमकुमार राईको राजीनामा स्वीकृत भएसँगै सोमबारदेखि गृहसचिव पद रिक्त भएको छ । बुधबारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै राजीनामा दिएपछि आधा दर्जन सचिव दौडधुपमा छन् । राईको राजीनामासँगै गृह मन्त्रालयमा जान सचिवहरूले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापासँग सरुवाका लागि भेट बाक्लो पारेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित