१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड किन गए माधव नेपालको शरणमा ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-Prachanda

– कमलराज भट्ट/समाचार टिप्पणी

काठमाडौं, २१ फागुन । पछिल्लो समयमा राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको छ । सहमतिका लागि भन्दै संविधानसभा छाडेको एकीकृत नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले पनि सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ । तर, कसरी एकाएक यो निर्णयमा पुगे एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ? जबकी अघिल्लो दिनसम्म पनि आन्दोलनको रटान लगाइरहेका प्रचण्ड बिहीबार विपक्षी मोर्चाभित्रको असहमतिको बाबजुद पनि वार्ताको पक्षमा उभिए । कसरी ?

स्रोतका अनुसार, एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्तापछि प्रचण्ड एकाएक १८० डिग्री मोडिएका हुन् । अस्तिसम्म संविधानसभामा अगाडि बढाइएको प्रक्रिया खारेज नहुँदासम्म वार्तामा नबस्ने अडान राखेका प्रचण्डले बुधबार माधव नेपाललाई भेटेर वार्ताका लागि वातावरण बनाउनुस भनेका थिए ।

आन्दोलनले निकास नदिने भएपछि विपक्षी मोर्चाका समेत संयोजक रहेका प्रचण्ड वार्तामा बस्न इच्छुक देखिएका हुन् । बुधबार विभिन्न कार्यक्रममा सहभागी हुँदा पनि उनले वार्ताका लागि सकारात्मक धारणा राखेका थिए ।

‘प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नटेरेको भन्दै उनी माधव नेपालको मध्यस्ता खोज्दै उनलाई भेटन पुगेका थिए । शान्ति सम्झौताका बेला पनि माओवादीलाई सहमतिमा ल्याउन प्रमुख भूमिका खेल्ने नेता नेपाल नै भएकाले पनि प्रचण्ड पूर्ण विश्वासका साथ माधव नेपालको शरणमा परेका हुन् ।,’ नेपाल निकट एमालेका एक नेताले भने, ‘१० वर्षे जनयुद्धलाई विस्तृत शान्ति सम्झौतामा ल्याउने एक सदस्य समेत रहेका नेता नेपाललाई भेटेर प्रचण्डले सहमतिका लागि वातावरण बनाउन आग्रह गरेका थिए ।’

उनले भने, प्रचण्डलाई कोइराला र ओलीले पेलेको भान परेको छ । कोइरालाले सहमतिमा आउनुस भनेर पत्र मात्रै लेख्ने, ओलीले कडा अभिव्यक्ति दिएर आलोचना गर्ने गरेकाले सहमतिको माध्यम प्रचण्डले माधव नेपाललाई बनाउन खोजेको हुनुपर्छ ।’

एमाले नेता नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार रहेका प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार विष्णु रिजाल पनि नेपाल र प्रचण्डको भेटवार्ताले वार्तालाई सहज बनाएको हुनसक्ने बताउँछन् । ‘वार्तामा बस्ने नबस्ने त उनीहरुको कुरा हो । तर, नेता नेपालसँगको भेटवार्ताले वार्ताको वातावरण बनाउन मद्दत गरेको हो ।’, रिजाल भन्छन्, ‘कि सुशील कोइरालासँग कुरा गर्नुपर्‍यो, कि ओलीसँग गर्नुपर्‍यो । त्यसबाहेकसँग कुरा गर्दा नेपालको विकल्प पनि छैन । जोसँग राम्रो सम्बन्ध र विश्वास छ । उसैलाई रोज्नु स्वभाविक हो ।’

माघ ५ पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डको वार्ता भएको छैन । पानी बाराबारको अवस्था छ । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा विपक्षीसँगको वार्ता प्रक्रियामा खासै सहभागी छैनन् । जसका कारण उनले वार्ताको भूमिका खेल्न सक्ने अवस्था पनि छैन ।

नेता नेपालसँगको भेटमा प्रचण्डले १२ बुँदे समझदारीदेखि अहिलेसम्मका राजनीतिक सहमतिमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संविधान निर्माणको लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रचण्डको प्रस्तावमा नेता नेपालले एमाले सहमतिका लागि तयार रहेको भन्दै विवादित विषयमा टेबलमा बसेर छलफल गरी निकास निकाल्नुपर्ने बताएका थिए । ‘अहिलेको अवस्थामा प्रचण्डले एमालेमा विश्वास–भरोसा गरेका नेता माधव नेपाल नै हुन् । यदि माधव नेपालले यो कार्य पूरा गर्न सके संविधान निर्माणको श्रेय पाउनेछन् ।– उनी निकट नेताले भने ।

एमाओवादी लगायतको विपक्षी मोर्चाले सत्ता पक्षसँग दोस्रोचरणको आन्दोलनमा जानुअघि अन्तिमपटक औपचारिक वार्ता गर्ने निर्णय बिहीबार गरेको छ । के अब संविधान निर्माणको काम ट्रयाकमा आउला त ?