
चन्द्रौटा, १७ माघ । नगरकै उत्कृष्ट निजी विद्यालयको पहिचान बनाउन सफल शिवगढी इंगलिस स्कूलले विविध कार्यक्रमकाबीच रजत महोत्सव मनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरस्थित सो विद्यालय स्थापनाको २५औं वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।२५औं वर्षगाँठको अवसरमा विद्यालयले तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको विद्यालयका प्रिन्सिपल तोयानाथ गैरेले जानकारी दिए ।
वि.सं. २०५१ सालमा स्थापना भएको शिवगढी स्कूल नगरका निजी विद्यालयहरुमा उत्कृष्ट विद्यालयको रुपमा छवि कायम गर्न सफल भएको छ ।
रजत महोत्सवलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले अभिभावकको रोजाईमा पर्न सफल भएकोमा प्रशंसा व्यक्त गरे । उनले विद्यार्थीहरुको चेतना सभ्यता, ससंस्कारको विकास एवं विस्तारबाट समाज परिवर्तनमा अझ महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सीपमूलक र संस्कारका कुरालाई शिक्षामा समावेश गर्दै शिक्षालाई स्तरीय बनाउनुपर्नेमा जोड दिए । “शिवगढी यस क्षेत्र कै गुणस्तरीय शिक्षा दिन सफल सर्वश्रेष्ठ विद्यालय हो” –अधिकारीले भने ।
रजत महोत्सवको अवसरमा स्कूलले माघ १४ गते रक्तदान, १५ गते हाजिरी जवाफ प्रतियोगिता र १६ गते अभिभावक दिवस, सरस्वती पूजा गरी मनाएको प्रिन्सिपल तोयानाथ गैरेले बताए । शिक्षालाई अझ गुणस्तरीय बनाउन विद्यालय परिवार सदैव अग्रसर हुने प्रिन्सिपल गैरेले विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न विधातर्फ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । साथै शिक्षकहरुलाई समेत सम्मान प्रदान गरिएको थियो ।
रजत महोत्सवको अवसरमा शिवगढी इंगलिस स्कूलले प्रथम स्मारिका समेत प्रकाशन गरेको छ । स्मारिकाको प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी., नगरप्रमुख नेत्रराज अधिकारी लगायतले विमोचन गरेका थिए ।















प्रतिक्रिया